

भक्तपुर- भक्तपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्यांकनमा देशभरिका अस्पतालमध्ये उत्कृष्ट घोषित भएको छ ।
‘सेकेन्डरी बी’ तहबाट स्तरोन्नति भई ‘सेकेन्डरी ए’ तहमा रहेका १०० देखि ३०० शय्यासम्मका देशभरिका अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको अस्पतालका निमित्त निर्देशक सुरेन्द्र भट्टले जानकारी दिए ।
बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयद्वारा गत जेठ ५ र ६ गते विज्ञसहितको टोलीमार्फत गरिएको न्यूनतम सेवा मापदण्ड मूल्यांकनको नतिजा बिहीबार सार्वजनिक गरिएको हो ।
मूल्यांकन समितिले भक्तपुर अस्पतालमै आयोजित कार्यक्रममा नतिजा सार्वजनिक गर्दै अस्पतालले ९३ प्रतिशत अंक प्राप्त गरेको जनाएको छ । यससँगै भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट ‘सेकेन्डरी ए’ अस्पताल घोषित भएको हो ।
गत वर्ष पनि अस्पतालले ९० अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पताल बन्न सफल भएको थियो । यस वर्ष थप तीन अंक सुधार गर्दै अस्पतालले उत्कृष्टताको निरन्तरता कायम राखेको छ ।
अस्पतालमा आयोजित न्यूनतम सेवा मापदण्ड तथा क्लिनिकल लेखापरीक्षण समीक्षा कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक डा. नरेन्द्रकुमार झाले कर्मचारीहरूको लगनशीलता, मेहनत र सेवाप्रतिको प्रतिबद्धताका कारण अस्पतालले उत्कृष्टता हासिल गरेको बताए ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष ज्ञानराम श्रेष्ठले अस्पताललाई थप विशिष्टीकृत सेवासहित अघि बढाइने जानकारी दिए । उनले अस्पतालमा न्युरो सर्जरी सेवा सञ्चालनका लागि स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको बताउँदै आगामी दिनमा थप सेवा र सुविधा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।



