

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले ‘डा.’ उपाधिको गैरकानुनी प्रयोग तथा भ्रामक चिकित्सा प्रचारप्रसारविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ ।
काउन्सिलले बिहीबार जारी गरेको अत्यावश्यक सूचनामार्फत चिकित्सकको मान्यता नलिएका व्यक्तिले नामअघि ‘डा.’ उपाधि प्रयोग गरे कानुनी कारबाही गरिने स्पष्ट पारेको हो ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेद्वारा जारी सूचनामा नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित स्वास्थ्य परिषद्मा विधिवत् दर्ता भई चिकित्सकको मान्यता प्राप्त गरेका व्यक्तिबाहेक अन्य कसैले “डा.” उपाधि प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ ।
काउन्सिलका अनुसार पछिल्लो समय केही अस्पताल, निजी क्लिनिक, स्वास्थ्य परामर्श केन्द्र तथा सामाजिक सञ्जालमार्फत गैरचिकित्सक व्यक्तिहरूले ‘डा.’ उपाधि प्रयोग गर्दै बिरामी जाँच्ने, औषधि सिफारिस गर्ने तथा सर्वसाधारणलाई भ्रमित बनाउने गतिविधि बढ्दै गएको पाइएको छ ।
यस्ता गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै काउन्सिलले तत्काल बन्द गर्न निर्देशन दिएको छ । साथै, १५ दिनभित्र प्रेस्क्रिप्सन प्याड, साइनबोर्ड, भिजिटिङ कार्ड, आधिकारिक कागजात तथा सामाजिक सञ्जालबाट ‘डा.’ उपाधि हटाउन भनिएको छ ।
काउन्सिलले विदेश वा स्वदेशका विश्वविद्यालयबाट ‘डाक्टर’ शब्द जोडिएको शैक्षिक उपाधि प्राप्त गर्नु मात्रै नेपालमा आधुनिक चिकित्सा सेवा सञ्चालन गर्ने कानुनी आधार नहुने पनि स्पष्ट गरेको छ ।
सूचनामा बिरामीको उपचार, स्वास्थ्य परामर्श तथा ‘डा.’ उपाधिको प्रयोग गर्ने अधिकार केवल नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्र हुने उल्लेख गरिएको छ ।




