
काठमाडौं – औषधि व्यवस्था विभागले औषधिको नाममा भइरहेका भ्रामक, अप्रमाणित तथा कपोलकल्पित विज्ञापन नियन्त्रण गर्न विज्ञापन बोर्डलाई आग्रह गरेको छ ।
विभागले बिहीबार विज्ञापन बोर्डलाई पत्र पठाउँदै विभिन्न सञ्चार माध्यम, अनलाइन प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत औषधिको नाममा भ्रामक प्रचारप्रसार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विभागका अनुसार यस्ता विज्ञापनले सर्वसाधारणलाई भ्रममा पार्नुका साथै जनस्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने जोखिम देखिएको छ । विभागले यसअघि पनि यस्ता कार्य नगर्न पटक–पटक सार्वजनिक सूचना जारी गरिसकेको जनाएको छ ।
पत्रमा औषधि ऐन, २०३५ तथा औषधि दर्ता नियमावली, २०३८ अनुसार औषधि व्यवस्था विभागबाट स्वीकृति नलिई कुनै पनि औषधिको विज्ञापन प्रकाशन, प्रसारण वा प्रचारप्रसार गर्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ ।
विभागले स्वीकृतिविना सञ्चालन भइरहेका औषधिसम्बन्धी विज्ञापन रोक्न आवश्यक पहल गर्न तथा सम्बन्धित निकायलाई निर्देशन दिन विज्ञापन बोर्डलाई अनुरोध गरेको छ ।
साथै, औषधिसम्बन्धी कुनै पनि विज्ञापन प्रसारण वा प्रकाशन गर्नुअघि विभागबाट स्वीकृति प्राप्त भए–नभएको यकिन गर्नसमेत आग्रह गरिएको छ ।



