

कञ्चनपुर- कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको पाइएको छ । व्यस्त कार्यतालिका, छोटो मातृत्व बिदा, ‘फर्मुला’ दूधको बढ्दो प्रयोग, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको आक्रामक विज्ञापन, सहरीकरण, बदलिँदो जीवनशैली तथा शल्यक्रियामार्फत हुने प्रसूति बढ्दै जानु यसका प्रमुख कारणका रूपमा देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य नर्सिङ निरीक्षक आरती पाण्डेयका अनुसार जिल्लामा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको सङ्ख्या ८४ दशमलव ९ प्रतिशत रहेको छ । तर, छ महिनासम्म पूर्ण स्तनपान गराउने आमाको दर भने ५५ दशमलव ११ प्रतिशत मात्रै रहेको उनले जानकारी दिइन् ।
जिल्लाका नौवटै स्थानीय तहमध्ये पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या सबैभन्दा बढी लालझाडी गाउँपालिकामा ८१ दशमलव ६६ प्रतिशत रहेको छ । त्यसपछि दोधारा–चाँदनी नगरपालिकामा ६४ दशमलव ६२ प्रतिशत, पुनर्वास नगरपालिकामा ६१ दशमलव २९ प्रतिशत तथा शुक्लाफाँटा नगरपालिकामा ६१ दशमलव २८ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन् ।
त्यस्तै, कृष्णपुर नगरपालिकामा ६० दशमलव ३९ प्रतिशत, बेदकोट नगरपालिकामा ५९ दशमलव ७९ प्रतिशत, भीमदत्त नगरपालिकामा ४५ प्रतिशत, बेलडाँडी गाउँपालिकामा ४१ दशमलव २३ प्रतिशत तथा बेलौरी नगरपालिकामा ३८ दशमलव ११ प्रतिशत आमाले मात्रै पूर्ण स्तनपान गराउने गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको दर ६९ प्रतिशत रहेको छ भने पूर्ण स्तनपान गराउने आमाको दर ७४ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।
शैक्षिक अवस्थाअनुसार शिक्षा नलिएका ५९ प्रतिशत, आधारभूत तहसम्म अध्ययन गरेका ६१ प्रतिशत र माध्यमिक तह उत्तीर्ण गरेका ५३ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन् ।
आर्थिक अवस्थाका आधारमा न्यून आय भएका परिवारका ६४ प्रतिशत, दोस्रो वर्गका ५८ प्रतिशत, मध्यम वर्गका ६१ प्रतिशत, चौथो वर्गका ५४ प्रतिशत तथा उच्च आर्थिक अवस्था भएका ४४ प्रतिशत आमाले मात्रै स्तनपान गराउने गरेको तथ्यांकमा उल्लेख छ ।
दूधदानी प्रयोग गरेर शिशुलाई दूध खुवाउने प्रवृत्ति पनि बढ्दो देखिएको छ । सुदूरपश्चिम प्रदेशमा १५ प्रतिशत आमाले दूधदानी प्रयोग गर्ने गरेका छन् । अध्ययनअनुसार शिक्षा नलिएका १२ प्रतिशत, आधारभूत तहसम्म अध्ययन गरेका १४ प्रतिशत, माध्यमिक तह उत्तीर्ण गरेका ३१ प्रतिशत तथा उच्च शिक्षा हासिल गरेका ४९ प्रतिशत आमाले दूधदानी प्रयोग गर्ने गरेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउँदा शिशु मृत्युदरलाई १९ दशमलव १ प्रतिशतसम्म रोकथाम गर्न सकिन्छ । जन्मेको पहिलो दिन स्तनपान गराउँदा मात्रै पनि ७ दशमलव ७ प्रतिशत शिशु मृत्युदर घटाउन सकिने निरीक्षक पाण्डेयले बताइन् ।
सरकारले छ महिनासम्म पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या हालको ५६ प्रतिशतबाट बढाएर सन् २०३० सम्म ९० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । तर, स्तनपान संरक्षणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा शिशु पोषण, मातृ स्वास्थ्य तथा दीर्घकालीन बाल विकासमा गम्भीर चुनौती देखिएको पाण्डेयको भनाइ छ ।
उनका अनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ लागू भए पनि व्यवहारमा यसको प्रभाव कमजोर देखिएको छ ।
“फर्मुला दूधको बजार विस्तार, सहरीकरण, बदलिँदो पारिवारिक संरचना र कार्यस्थलको असहज वातावरणले स्तनपान अभ्यास कमजोर बनाउँदै लगेको छ,” पाण्डेयले भनिन्, “तीन दशकअघि नै कानुनी व्यवस्था भए पनि अनुगमन र कार्यान्वयन प्रभावकारी नहुँदा अपेक्षित सुधार हुन सकेको छैन ।”
स्वास्थ्यकर्मीहरूका अनुसार अपर्याप्त स्तनपानका कारण शिशु तथा मातृ स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम बढ्दो छ । उनीहरूले स्तनपान प्रवर्द्धनका लागि कानुन मात्रै पर्याप्त नभई सामाजिक व्यवहार, जनचेतना र कार्यस्थलमैत्री वातावरण निर्माण आवश्यक रहेको बताएका छन् ।
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ ले शिशु आहार उत्पादन तथा वितरणमा कडा नियमनको व्यवस्था गरेको छ । ऐनअनुसार शिशु आहारको विज्ञापन, बिक्री प्रवर्द्धन र प्रचारप्रसारमा प्रतिबन्ध छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले उत्पादक वा वितरकबाट कुनै पनि प्रकारको उपहार, प्रलोभन वा आर्थिक लाभ लिन नपाइने व्यवस्था गरिएको छ ।
यसैगरी, उत्पादन बजारमा ल्याउनुअघि केन्द्रीय खाद्य अनुसन्धानशालाबाट अनिवार्य प्रमाणीकरण गर्नुपर्ने तथा ‘लेबल’मा स्तनपानलाई प्राथमिकता दिने सन्देश नेपाली भाषामा स्पष्ट उल्लेख गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । स्तनपानलाई निरुत्साहित गर्ने चित्र, सामग्री वा भ्रामक सूचना प्रयोग गर्न पनि रोक लगाइएको छ ।
शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बाल कुपोषण न्यूनीकरणका लागि समुदायस्तरमै जनचेतना विस्तार गर्नुपर्ने बताए । उनका अनुसार आमाहरूलाई स्तनपानसँगै छ महिनापछि घरमै तयार गरिने पोसिलो पूरक आहारबारे सही जानकारी दिन आवश्यक छ ।
स्वास्थ्यकर्मी हरि नाथले ‘फर्मुला’ दूधको अनियन्त्रित प्रचार रोक्न, कानुनको प्रभावकारी अनुगमन गर्न तथा स्तनपानमैत्री वातावरण निर्माण गर्न स्थानीय तहदेखि नै समन्वित पहल आवश्यक रहेको बताए ।
उनले स्तनपान संरक्षण ऐनको प्रभावकारी कार्यान्वयन, जनचेतना विस्तार तथा कार्यस्थलमैत्री नीतिबिना शिशु स्वास्थ्य सुधार र बाल कुपोषण न्यूनीकरणको लक्ष्य हासिल गर्न कठिन हुने धारणा व्यक्त गरे ।



