

काठमाडौँ- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘म्याग्नेसियम ग्लाइसिनेट’ नामक अणु समावेश भएका कुनै पनि आहारपूरक खाद्य पदार्थ नेपालमा दर्ता नभएको स्पष्ट गर्दै त्यस्ता उत्पादन बिक्री–वितरण नगर्न चेतावनी दिएको छ ।
विभागले बुधबार सूचना जारी गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा आहारपूरक खाद्य पदार्थ नियमन कार्यविधि, २०७२ अनुसार फुड, हेल्थ, न्यूट्रिसनल वा डाइटरी सप्लीमेन्ट, न्युट्रास्यूटिकल तथा प्रोबायोटिकजन्य उत्पादन विभागमा दर्ता भएपछि मात्रै बिक्री–वितरण गर्न पाइने जनाएको हो ।
विभागका अनुसार हालसम्म म्याग्नेसियम ग्लाइसिनेट अणु भएका कुनै पनि आहारपूरक खाद्य पदार्थलाई दर्ता तथा बिक्री–वितरणको अनुमति दिइएको छैन ।
हाल सामाजिक सञ्जालमा म्याग्नेसियम ग्लाइसिनेटसम्बन्धी विभिन्न प्रचार सामग्री तथा समाचार सार्वजनिक भइरहेका बेला विभागले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभागले दर्ता नभएका यस्ता उत्पादनलाई आहारपूरक खाद्य पदार्थका रूपमा बिक्री–वितरण गरेको पाइए खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई पनि दर्ता तथा स्वीकृति प्राप्त उत्पादन मात्रै प्रयोग गर्न आग्रह गरेको छ ।



