
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले गैरआवासीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय हालका लागि स्थगित गरेको छ । काउन्सिलले दुई चरणमा गरी ती चिकित्सकहरूको नाम दर्ता किताबबाट हटाउने निर्णय गरेको भए पनि व्यापक विरोधपछि उक्त निर्णय रोकिएको हो ।
काउन्सिलको वैशाख २९ गते बसेको पूर्ण बैठकले हाललाई उनीहरूको नाम दर्ता किताबमै कायम राख्ने निर्णय गरेको जनाएको छ ।
यसअघि नेपाल मेडिकल काउन्सिल ऐन–२०२०, नियमावली–२०२४ तथा नेपाल नागरिकता ऐन–२०६३ अनुसार नेपाली नागरिकता त्याग गरी विदेशी राहदानी लिएका १९ जना चिकित्सकको नाम दर्ता किताबबाट खारेज गर्ने निर्णय गरिएको थियो । त्यसपछि थप चिकित्सकसमेत गरी कुल ३६ जनाको लाइसेन्स खारेजी प्रक्रिया अघि बढाइएको थियो ।
तर उक्त निर्णयको विभिन्न क्षेत्रबाट विरोध भएपछि काउन्सिल पछि हटेको हो ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार अब विश्वभर रहेका गैरआवासीय नेपाली चिकित्सकलाई पुनः दर्ताका लागि आह्वान गरिनेछ । उनले यस विषयमा आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।


