

काठमाडौं – बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, मानसिक तनाव तथा दीर्घरोगका कारण पछिल्लो समय उच्च रक्तचापका बिरामी बढ्दै गएको चिकित्सकहरूले बताएका छन् ।
विश्व उच्च रक्तचाप दिवस २०२६ को अवसरमा कान्तिपुर डेन्टल कलेज तथा जनरल अस्पतालका इन्टरनल मेडिसिन स्पेसिलिस्ट डाक्टर सञ्जय कुमार शाहले उच्च रक्तचापलाई ‘मौन घातक’ रोगको रूपमा व्याख्या गर्दै समयमै परीक्षण र नियन्त्रण आवश्यक रहेको बताएका हुन् ।
उनका अनुसार माथिल्लो रक्तचाप १४० भन्दा बढी र तल्लो रक्तचाप ९० भन्दा बढी भए उच्च रक्तचाप भएको मानिन्छ । हप्तामा दुई पटकभन्दा बढी रक्तचाप बढेमा उच्च रक्तचाप भएको शंका गर्न सकिने उनले बताए ।
डा. शाहका अनुसार अहिलेको व्यस्त जीवनशैली, असन्तुलित खानपान, उच्च कोलेस्ट्रोल, थाइराइड समस्या तथा मधुमेह भएका व्यक्तिमा उच्च रक्तचापको जोखिम बढी देखिन्छ । यसको पहिचानका लागि नियमित रक्तचाप जाँचसँगै रगत, कोलेस्ट्रोल र मधुमेह परीक्षण गर्नुपर्ने उनले बताए ।
उच्च रक्तचाप नियन्त्रणका लागि नुन कम खाने, पर्याप्त पानी पिउने, नियमित शारीरिक व्यायाम गर्ने, मोटोपन घटाउने तथा कोलेस्ट्रोल र सुगर नियन्त्रणमा राख्नुपर्ने चिकित्सक शाहको सुझाव छ । थाइराइड समस्या भए उपचार गर्न पनि उनले आग्रह गरे ।
जीवनशैली सुधार गर्दा पनि रक्तचाप नियन्त्रणमा नआए औषधि सेवन गर्नुपर्ने उनले बताए । उच्च रक्तचापलाई बेवास्ता गर्दा स्ट्रोक, प्यारालाइसिस, हृदयघात जस्ता गम्भीर समस्या आउन सक्ने र कतिपय अवस्थामा ज्यानसमेत जान सक्ने चेतावनी उनले दिए ।
उनले उच्च रक्तचाप हुन नदिन नियमित व्यायाम, तनाव नियन्त्रण र स्वस्थ खानपानमा विशेष ध्यान दिन आग्रह गरे ।
यस वर्ष विश्व उच्च रक्तचाप दिवसको नारा “उच्च रक्तचाप नियन्त्रणमा सबैको साथ : जाँच गरौं नियमित रक्तचाप, परास्त गरौं मृत्युको मौन कारक” रहेको उल्लेख गर्दै उनले सबैलाई नियमित रक्तचाप परीक्षण गर्न आग्रह गरेका छन् ।


