
काठमाडौं – आज विश्वभर विश्व उच्च रक्तचाप दिवस २०२६ विविध जनचेतनामूलक कार्यक्रमसहित मनाइँदैछ । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अवसरमा उच्च रक्तचापको रोकथाम, समयमै पहिचान र प्रभावकारी व्यवस्थापनका लागि सबै सरोकारवालालाई आह्वान गरेको छ ।
यस वर्षको नारा “उच्च रक्तचाप नियन्त्रणमा सबैको साथ: जाँच गरौं नियमित रक्तचाप; परास्त गरौं मृत्युको मौन कारक” रहेको छ ।
मन्त्रालयका अनुसार उच्च रक्तचाप विश्वव्यापी रूपमा तीव्र गतिमा बढ्दो जनस्वास्थ्य समस्या हो । विश्व स्वास्थ्य संगठनका तथ्याङ्कअनुसार हाल विश्वभर करिब १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन् भने ठूलो हिस्सा आफ्नो अवस्थाबारे अनविज्ञ रहेको छ । उपचार र नियन्त्रण सम्भव भए पनि चार जनामध्ये एक जनाको मात्र रक्तचाप नियन्त्रणमा रहेको तथ्य चिन्ताजनक रहेको मन्त्रालयले जनाएको छ ।
दक्षिण एसियामा समेत उच्च रक्तचाप गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएको छ । नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत नसर्ने रोगका कारण हुने गरेको र तीमध्ये २७.३६ प्रतिशत मुटु तथा रक्तनलीसम्बन्धी रोगबाट हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
नसर्ने रोगसम्बन्धी सर्वेक्षण (२०७६/७७) अनुसार नेपाली वयस्कमा उच्च रक्तचापको दर २४.५ प्रतिशत रहेको छ । बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, अत्यधिक नुन तथा चिल्लो पदार्थको सेवन, शारीरिक निष्क्रियता, धूम्रपान, मद्यपान, मानसिक तनाव, वायु प्रदूषण र शहरीकरण उच्च रक्तचाप बढाउने प्रमुख कारणका रूपमा देखिएका छन् ।
लक्षण नदेखिने भएकाले उच्च रक्तचापलाई “मौन हत्यारा” भनिन्छ । समयमै पहिचान र उपचार नभएमा यसले मुटुरोग, हृदयघात, मस्तिष्कघात, मृगौला रोगलगायत गम्भीर समस्या निम्त्याउन सक्ने भएकाले नियमित रक्तचाप परीक्षण अत्यावश्यक रहेको मन्त्रालयले जनाएको छ ।
नेपालको संविधानको धारा ३५ ले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य सेवाको हक र जनस्वास्थ्य सेवा ऐन २०७५ को प्रावधानअनुसार नसर्ने रोगको रोकथाम तथा नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सबै उमेर समूहका नागरिक, विशेषगरी ३० वर्षमाथिका व्यक्तिलाई कम्तीमा वर्षमा एक पटक रक्तचाप जाँच गर्न आग्रह गरेको छ । साथै नुन, चिल्लो र प्रशोधित खाना घटाई फलफूल र तरकारीको सेवन बढाउन, दैनिक ३० देखि ४५ मिनेट व्यायाम गर्न, धूम्रपान तथा मद्यपानबाट टाढा रहन र पर्याप्त निद्रा तथा तनाव व्यवस्थापनमा ध्यान दिन अनुरोध गरिएको छ ।
उच्च रक्तचाप देखिएका व्यक्तिहरूलाई चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्न र आफूखुसी औषधि बन्द नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार उच्च रक्तचाप नियन्त्रण कुनै एक व्यक्तिको मात्र नभई परिवार, समुदाय, स्वास्थ्यकर्मी, नीति निर्माता तथा समग्र स्वास्थ्य प्रणालीको साझा जिम्मेवारी हो ।


