
काठमाडौं – नेपालमा वर्षायाम सुरु भएसँगै स्क्रब टाइफस संक्रमणको जोखिम बढ्न थालेपछि नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । विशेषगरी झाडी, खेतबारी, वनजंगल तथा घर वरिपरिको घाँसे क्षेत्रमा बसोबास गर्ने तथा काम गर्ने व्यक्तिहरू उच्च जोखिममा रहने जनाइएको छ ।
कसरी सर्छ स्क्रब टाइफस ?
स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो, जुन मुसामा पाइने किर्ना जस्तो देखिने सानो किरा ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो रोग ओरेन्सिया सुसुगामुसी नामक जीवाणुका कारण लाग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । रोग मानिसबाट मानिसमा भने सर्दैन ।
यस्ता छन् प्रमुख लक्षण
स्क्रब टाइफस संक्रमित व्यक्तिमा उच्च ज्वरो आउने, टाउको अत्यधिक दुख्ने, धेरै पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने लगायतका समस्या देखिन सक्छन् । त्यस्तै माइटले टोकेको स्थानमा सुरुमा रातो डाबर जस्तो दाग देखिने र पछि कालो दाग बस्ने लक्षणसमेत देखापर्न सक्छ ।
कसरी बच्ने ?
स्वास्थ्य मन्त्रालयले खेतबारी, वनजंगल वा घाँस काट्न जाँदा शरीर पुरै ढाकिने कपडा लगाउन तथा सम्भव भएसम्म बुट प्रयोग गर्न सुझाव दिएको छ । घाँसवारी वा चउरमा बस्दा दरी वा गुन्द्री ओछ्याएर बस्न, भुइँमा नसुत्न तथा खाट वा अग्लो स्थान प्रयोग गर्न आग्रह गरिएको छ ।
त्यस्तै घर वरिपरि झाडी, घाँस तथा घुरान नराख्न, मुसा नियन्त्रणका लागि सुरक्षित ढंगले अन्न भण्डारण गर्न तथा सफा वातावरण कायम गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
शंका लागे तुरुन्त स्वास्थ्य संस्थामा जान आग्रह
स्क्रब टाइफसको लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा गई उपचार गराउन मन्त्रालयले आग्रह गरेको छ । समयमै उपचार तथा औषधि सेवन गरेमा यो रोग पूर्ण रूपमा निको हुने चिकित्सकहरू बताउँछन् ।
स्वास्थ्य मन्त्रालयले सबै नागरिकलाई व्यक्तिगत सरसफाइ, वातावरणीय स्वच्छता तथा आवश्यक सतर्कता अपनाएर स्क्रब टाइफसबाट जोगिन अपिल गरेको छ ।


