

धादिङ – निलकण्ठ नगरपालिका १० स्थित श्री कुमारी देवी माध्यमिक विद्यालयमा आयोजित दुई दिने निःशुल्क विद्यार्थी लक्षित दन्त शिविर एवम् सचेतनामुलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
सो स्वास्थ्य शिविर एवम् सचेतना कार्यक्रम बिहीवार र शुक्रवार दुई दिनसम्म सञ्चालन भएको हो । विद्यालयले शिविर सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
विद्यालयकी प्रधानाध्यापक सृजना पाठकले शिविरले विद्यार्थीहरूको दन्त स्वास्थ्य परीक्षण तथा सचेतनामा महत्त्वपूर्ण योगदान पुगेको बताउँदै सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरिन् । उनले यस्ता कार्यक्रमले विद्यालय र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिन् ।
उनले विशेष रूपमा मानवीय सेवाको भावना सहित गाउँ स्वास्थ्य सेवा, शैक्षिक सहयोग, छात्रवृत्ति तथा सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको टुकी नेपाल समाजका अध्यक्ष कमल सापकोटा लगायत सम्पूर्ण स्वास्थ्य टोलीप्रति विद्यालय परिवारले विशेष कृतज्ञता व्यक्त गरिन् ।
प्रधानाध्यापक पाठकले स्वास्थ्य टोलीको समर्पण, सेवा भावना र निस्वार्थ सहयोगले धेरै विद्यार्थी तथा अभिभावकको अनुहारमा मुस्कान ल्याएको बताइन् । उनले समाज परिवर्तनको यात्रामा यस्ता सहकार्य प्रेरणादायी र उदाहरणीय रहने विश्वास व्यक्त गरिन् ।
विद्यालयले आगामी दिनहरूमा पनि यस्तै सहयोग, सहकार्य र साथको अपेक्षा गर्दै सम्पूर्ण सहयोगी महानुभावहरूलाई पुनः धन्यवाद ज्ञापन गरेको छ ।
दन्त सचेतना कार्यक्रम
स्वस्थ दाँत र मुख स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले दन्त सचेतना कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा दाँत तथा मुखको नियमित सरसफाइ, दाँत बिग्रिनुका कारण, समयमै उपचारको महत्त्व तथा नियमित ब्रस गर्ने सही तरिकाबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थी/स्थानीयवासीलाई दिनमा दुई पटक ब्रस गर्ने, अत्यधिक गुलियो खानेकुरा कम सेवन गर्ने तथा कम्तीमा प्रत्येक ६ महिनामा नियमित दन्त परीक्षण गराउन सुझाव दिइएको थियो । साथै दन्त रोग समयमै पहिचान गरी उपचार गरे जटिल समस्या हुन नदिने विषयमा पनि जानकारी गराइएको थियो ।
कार्यक्रममा दन्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले कार्यक्रम उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।
दन्त सुरक्षा सामग्री, फलफूल तथा स्टेशनरी सामग्री वितरण
दन्त स्वास्थ्य प्रवर्द्धन तथा विद्यार्थीहरूको उत्साह अभिवृद्धि गर्ने उद्देश्यले दन्त सुरक्षा सामग्री, फलफूल तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई टूथब्रस, टूथपेस्ट लगायतका दन्त सुरक्षा सामग्रीसँगै फलफूल र शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा दाँत तथा मुख स्वास्थ्यको महत्वबारे जानकारी दिँदै नियमित सरसफाइ, स्वस्थ खानपान र समयमै दन्त परीक्षण गराउन सुझाव दिइएको थियो । आयोजकले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्य तथा शिक्षाप्रति सकारात्मक चेतना विकास हुने विश्वास व्यक्त गरेका छन् ।
टुकी नेपाल समाज नेपालको एक सामाजिक संस्था हो, जसले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, बालअधिकार, सामुदायिक विकास तथा विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ । समाजले विशेषगरी विपन्न तथा पिछडिएका समुदायको जीवनस्तर सुधारका लागि विभिन्न सचेतनामूलक तथा सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संस्थाले विद्यालय सहयोग, स्वास्थ्य शिविर, छात्रवृत्ति, सरसफाइ तथा मानवीय सेवाका कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गरिरहेको छ । संस्थाले कुमारी देवी माध्यमिक विद्यालयमा यसअघि पनि पटक-पटक विभिन्न सहयोग गर्दै आएको छ ।



