
काठमाडौं– सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्यायलाई नियुक्त गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको मन्त्रीस्तरीय निर्णयअनुसार डा. उपाध्यायलाई उक्त जिम्मेवारी तोकिएको हो। उनी ११औँ तहका आयुर्वेद चिकित्सक हुन्। यसअघि उनी नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकका रूपमा कार्यरत थिए।
मन्त्रालयका अनुसार महानिर्देशकको जिम्मेवारी दिए पनि डा. उपाध्यायको आधिकारिक दरबन्दी भने नरदेवी आयुर्वेद चिकित्सालयमै कायम रहनेछ। यसअघि विभागको निमित्त महानिर्देशकको जिम्मेवारी १०औँ तहका चिकित्सक डा. श्यामबाबु यादवले सम्हाल्दै आएका थिए।
डा. उपाध्याय विभागमा सरुवा भएसँगै नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशक पद हाल रिक्त भएको छ। हालसम्म उक्त पदमा नयाँ नियुक्ति गरिएको छैन।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार चिकित्सालयमा कार्यरत वरिष्ठ चिकित्सकमध्येबाट कसैलाई निमित्त निर्देशकको जिम्मेवारी दिने तयारी भइरहेको छ।


