
चितवन- चितवनमा डेंगुभन्दा स्क्रब टाइफस संक्रमणका बिरामीको संख्या बढ्दो क्रममा देखिएको छ ।
जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको दैनिक अद्यावधिक विवरणअनुसार गत साउनदेखि हालसम्म जिल्लामा डेंगु संक्रमितको संख्या २ सय ६० पुगेको छ । उता स्क्रब टाइफस संक्रमितको सङ्ख्या भने ३ गुणा बढी अर्थात् ७ सय ८३ जना पुगेका छन् ।
कार्यालयको बिहीवारको तथ्याङ्क अनुसार हालसम्म डेंगु परीक्षण १० हजार २ सय ६ जनामा गरिएको छ भने स्क्रब टाइफस परीक्षण १० हजार ९ सय १० जनामा गरिएको छ । सो परीक्षणको क्रममा माथि उल्लेखित सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
स्थानीय तहअनुसार सबैभन्दा धेरै डेंगु संक्रमित रत्ननगरमा, कहाँ कति ?
स्थानीय तहअनुसार सबैभन्दा धेरै डेंगु संक्रमित रत्ननगर नगरपालिकामा ८३ जना रहेका छन् । भरतपुर महानगरपालिकामा ५५, खैरहनी नगरपालिकामा ३५, राप्ती नगरपालिकामा १७, कालिका नगरपालिकामा १० तथा माडी नगरपालिकामा ३ जना संक्रमित भेटिएका छन् । भने जिल्लाकै एक मात्र गाउँपालिका इच्छाकामनामा माडी नगरपालिका समान ३ जना संक्रमित रहेका छन् । संक्रमित हुनेमा ५४ जना अन्य जिल्लाका समेत छन् ।
स्क्रब टाइफसमा पनि रत्ननगरनै अगाडि, अन्य तहमा कस्तो छ अवस्था ?
यस्तै, स्क्रब टाइफस संक्रमण भने रत्ननगर नगरपालिकामा सबैभन्दा बढी २ सय १८ जना पुगेको छ । खैरहनी नगरपालिकामा ९९, भरतपुर महानगरपालिकामा ७८, राप्ती नगरपालिकामा ७२, कालिका नगरपालिकामा ६४, इच्छाकामना गाउँपालिकामा ९ तथा माडी नगरपालिकामा ६ जना संक्रमित रहेका छन् । संक्रमित हुनेमा २ सय ३७ जना अन्य जिल्लाका समेत छन् ।
एकैदिन स्क्रब टाइफसका ५ जना नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा डेंगुका १ जना मात्र नयाँ संक्रमित देखिए पनि स्क्रब टाइफसका भने ५ जना नयाँ संक्रमित थपिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । गत साउनदेखि हालसम्म दुवै रोगबाट मृत्यु हुने संख्या शून्य रहेको विवरणमा उल्लेख गरिएको छ ।
कसरी बच्ने ?
डेंगु सङ्क्रमण हुन नदिन स्वास्थ्यकर्मीहरूले लामखुट्टेको टोकाइबाट बच्न सरसफाइमा ध्यान दिन, पानी जम्न नदिन तथा ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लगायतका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेका छन् ।
त्यस्तै, ‘ओरेन्सिया सुसुगामोसी’ नामक जीवाणुले संक्रमित किर्नाले टोकेमा स्क्रब टाइफस सङ्क्रमण हुने गर्दछ । त्यसकारण किर्नाको टोकाइबाट बच्नु नै यसबाट बच्ने उत्तम उपाए हो । प्रायजसो मुसा वा अन्य जीवजन्तुको शरीरमा बस्ने यस्तो संक्रमित किर्नाले टोकेको ५ देखि ६ दिनमा मानिसलाई ज्वरो आउने, शरीरमा रातो बिमिरा आउने, शरीर दुख्ने, ग्रन्थि सुन्निनेलगायत लक्षण देखिन्छन् । यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा परीक्षण गराउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।


