
मोरङ – विराटनगरस्थित कोशी अस्पतालमा गरिएको अनुगमनका क्रममा एक सय ७७ जना चिकित्सक, कर्मचारी तथा प्राविधिक अनुपस्थित भेटिएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार गरेको अनुगमनका क्रममा हाजिर अभिलेख जाँच गर्दा अस्पताल प्रशासनलाई कुनै जानकारी नदिई ती कर्मचारी कार्यालय समयमा अनुपस्थित रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।
अस्पतालमा चिकित्सक तथा कर्मचारीहरू नियमित रूपमा कार्यालय समयमा अनुपस्थित रहने गुनासो बढेपछि सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाको नेतृत्वमा अनुगमन गरिएको हो ।
अनुगमन टोलीले हाजिर रजिस्टर, ड्युटी व्यवस्थापन तथा कर्मचारी उपस्थितिको अवस्थाबारे समेत अध्ययन गरेको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार अस्पताल प्रशासनलाई जानकारी नदिई अनुपस्थित रहने कर्मचारीमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ ।
उनले कोशी अस्पतालबाट सुरु गरिएको सुशासन अभियान अब अन्य सरकारी कार्यालय तथा बजार क्षेत्रमा समेत विस्तार गरिने बताए ।
प्रशासनले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन र कार्यालय समयमा हुने लापरबाही नियन्त्रण गर्न नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।


