
पोखरा- पोखरामा सञ्चालित केही आयुर्वेद अस्पताल तथा क्लिनिकमा गैरकानुनी र गुणस्तरहीन औषधिको बिक्रीवितरण भइरहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा मंगलबार गरिएको आकस्मिक अनुगमनका क्रममा पोखरा महानगरपालिका–१० बुद्धचोक क्षेत्रका विभिन्न स्वास्थ्य संस्थामा यस्तो गम्भीर लापरबाही फेला परेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार अनुगमनका क्रममा औषधि व्यवस्था विभागबाट अनुमति नलिएका तथा म्याद गुज्रेका ठूलो परिमाणका औषधि बरामद गरी नष्ट गरिएको छ ।
“अधिकांश अस्पताल तथा क्लिनिकमा गैरकानुनी रूपमा औषधि बिक्री भइरहेको पाइयो,” बरालले भने, “उपचारको नाममा भइरहेको यस्तो विकृति नियन्त्रण गर्न प्रशासनले अनुगमनलाई कडाइ गरेको छ । दोषीमाथि कानुनअनुसार कारबाही गरिन्छ ।”
अनुगमन टोलीले मापदण्ड पूरा नगरेका, दर्ता नवीकरण नगरी सञ्चालन भएका तथा दररेटसमेत नराखेका संस्थालाई बुधबार प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
सञ्चालन अनुमति विना सञ्चालन भइरहेको ‘फेमिली आयुर्वेदिक क्लिनिक’लाई भने तत्कालका लागि बन्द गरिएको प्रशासनले जनाएको छ ।
गण्डकी आयुर्वेद अस्पतालका चिकित्सक विपिनबन्धु आचार्यले बजारमा कानुनी मान्यता नपाएका औषधि भित्रिने क्रम बढेको भन्दै स्वास्थ्य संस्था आफैँ जिम्मेवार र सचेत हुनुपर्ने बताए । उनका अनुसार कतिपय क्लिनिकमा सम्बन्धित विषयको ज्ञान नभएका व्यक्तिले समेत औषधि बिक्री गरिरहेको पाइएको छ ।
अनुगमनका क्रममा बुद्धचोक क्षेत्रका नेचर केयर आयुर्वेद अस्पताल, साधना आयुर्वेद, आरोग्य होमियो फार्मेसी, पोखरा हेल्दी होम्सलगायत ८ वटा संस्थाको निरीक्षण गरिएको थियो ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, गण्डकी आयुर्वेद अस्पताल, वडा प्रहरी कार्यालय बैदाम तथा उपभोक्ता मञ्चका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । प्रशासनले मापदण्डविपरीत राखिएका होर्डिङ बोर्डसमेत तत्काल हटाउन निर्देशन दिएको छ ।


