
काठमाडौं – सरकारले आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यसहित यस्तो व्यवस्था अघि सारिएको हो ।
संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकले देशभर समान र गुणस्तरीय स्वास्थ्य सेवा पाउने सुनिश्चितताका लागि न्यूनतम मापदण्ड लागू गरिने जानकारी दिएका हुन् ।
सरकारले औषधि, स्वास्थ्य उपकरण तथा आवश्यक पूर्वाधारसहितको एकीकृत स्वास्थ्य सेवा मोडेल कार्यान्वयनमा ल्याउने पनि जनाएको छ । स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, सेवा र उपकरणको उपलब्धता सुनिश्चित गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।
त्यसैगरी सरकारले सबै स्थानीय तहमा आधारभूत अस्पतालको पहुँच सुनिश्चित गर्ने घोषणा पनि गरेको छ । नागरिकलाई नजिकैबाट स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यस्तो व्यवस्था समेटिएको हो ।
राष्ट्रपति पौडेलले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै स्थानीय तहसम्म अस्पताल सेवा सुदृढ गरिने बताएका छन् ।
सरकारले सामुदायिक स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको संख्या र सेवा दायरा विस्तार गर्ने पनि जनाएको छ । मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण तथा प्राथमिक उपचार सेवामा उनीहरूको भूमिकालाई अझ प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


