
काठमाडौं – सरकारले रोग निगरानी, रोकथाम तथा नियन्त्रणका लागि ‘सेन्टर फर डिजिज कन्ट्रोल’ स्थापना गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् ।
सरकारले संक्रामक तथा महामारीजन्य रोगको जोखिम समयमै पहिचान गरी प्रभावकारी नियन्त्रण गर्न रोग निगरानी प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित उक्त केन्द्र स्थापना गर्ने जनाएको छ ।
कोभिड–१९ महामारीपछि सार्वजनिक स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने आवश्यकता बढेकाले रोग नियन्त्रण तथा आपत्कालीन स्वास्थ्य प्रतिकार्यलाई व्यवस्थित गर्न नयाँ संरचना अघि सारिएको सरकारको भनाइ छ ।


