

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगत तर्फको सदस्यमा रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) का अध्यक्ष भक्तबहादुर हमाल विजयी भएका छन्।
नयाँ नेतृत्व चयनका लागि मंगलबार सम्पन्न निर्वाचनमा सदस्य पदका उम्मेदवार हमाल विजयी भएका हुन्।
महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गरेका हुन्। निर्वाचनमा श्रेष्ठले ६३ मत प्राप्त गर्दा घिमिरेले ६० मत पाएका छन्।
वस्तुगत समूहतर्फ २६ जना उम्मेदवारमध्येबाट १३ जना विजयी भएका छन्। विजयी हुनेहरूमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे रहेका छन्।
यसैबीच ४ जना उम्मेदवारले समान ५०–५० मत ल्याएपछि नतिजा टुंग्याउन चिठ्ठा प्रणाली अपनाइने भएको छ। चिठ्ठा प्रणालीमा सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउने रहेका छन्, जसबाट दुई जना विजयी हुनेछन्।
विप्लप अधिकारी नेपाल औषधि उत्पादक संघका अध्यक्ष हुन्।



