

काठमाडौँ – नेपाल चिकित्सक संघ (एनएमए) को जारी निर्वाचनअन्तर्गत मतगणना जारी छ। हालसम्म ६ हजार ७१५ मत गणना भइसकेको छ र प्रमुख पदहरूमा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।
अध्यक्ष पदमा डा. बद्री रिजाल ३०२१ मतसहित अग्रस्थानमा छन्। उनलाई डा. मंगल रावलले २७८४ मतसहित नजिकबाट पछ्याइरहेका छन् भने डा. नारायणप्रसाद भुसाल ८२३ मतसहित तेस्रो स्थानमा छन्।
वरिष्ठ उपाध्यक्ष पदमा डा. सञ्जीव तिवारी २८४७ मतसहित अगाडि छन्। डा. कीर्तिपाल सुवेदी २१८९ मतसहित दोस्रो र डा. अजयकुमार मिश्र १३५६ मतसहित तेस्रो स्थानमा छन्।
महासचिव पदमा डा. विश्वराज दवाडी २५७४ मतसहित अग्रस्थानमा छन् भने डा. कालुसिंह खत्री २३२१ मतसहित उनलाई पछ्याइरहेका छन्। डा. अमृत भुसाल १५५२ मतसहित तेस्रो स्थानमा छन्।
प्रदेश उपाध्यक्षतर्फ कोशी प्रदेशमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. नन्दाकुमारी गुरुङ, कर्णालीमा डा. रविन खड्का र सुदूरपश्चिममा डा. प्रमोद जोशी अग्रस्थानमा छन्।
कोषाध्यक्ष पदमा डा. संयुक्ता आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल अग्रस्थानमा छन्।
सदस्य पदतर्फ डा. राकेश शाह २६४८ मतसहित पहिलो स्थानमा छन् भने डा. अमित झा २६४७ मतसहित अत्यन्तै नजिक दोस्रो स्थानमा छन्। डा. पल्पसा श्रेष्ठ तेस्रो स्थानमा छिन् भने अन्य उम्मेदवारबीच पनि कडा प्रतिस्पर्धा देखिएको छ।


