
काठमाडौँ – बीएण्डबी अस्पतालले ‘खाद्य तथा पोषण सचेतना’ प्रदर्शनी आयोजना गर्दै बिरामीको अवस्था अनुसार उचित आहारको महत्वबारे जानकारी दिएकाे छ। अस्पतालकी न्यूट्रिसन एण्ड फूड म्यानेजमेन्ट हेड ऋतु जोशीका अनुसार प्रदर्शनीमार्फत विभिन्न रोग तथा अवस्थाअनुसार आवश्यक पर्ने पोषणयुक्त खानाको जानकारी दिइएको हो।
उनले अस्पतालमा आउने बिरामीलाई उनीहरूको स्वास्थ्य अवस्थाअनुसार आवश्यक सेवा प्रदान गरिने बताइन्। मधुमेह लगायत विभिन्न रोगका बिरामीले कस्तो आहार लिनुपर्छ भन्ने विषयमा प्रदर्शनीमा विशेष रूपमा जानकारी दिइएको थियो। साथै गम्भीर अवस्थाका बिरामीले खाने खानाका परिकारहरू समेत प्रदर्शन गरी व्यवहारिक जानकारी प्रदान गरिएको उनले बताइन्।

जोशीका अनुसार सामान्यतया बिरामीलाई दिनमा पाँच पटक खाना दिइन्छ। तर, डाइटिसियनको सल्लाहअनुसार बिरामीको अवस्था हेरेर आहार व्यवस्थापन गरिन्छ। उनले बदलिँदो जीवनशैलीअनुसार खानपानमा पनि परिवर्तन आवश्यक रहेको उल्लेख गरिन्।

बिरामी हुँदा केवल दूध, पाउरोटी र जाउलो मात्र खाने परम्परागत सोच परिवर्तन गर्न यस्तो कार्यक्रम गरिएको उनको भनाइ छ। प्रदर्शनीले स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै सन्तुलित आहारको महत्व बुझाउन सहयोग पुगेको विश्वास लिइएको छ।






