

विराटनगर- नेपाल नर्सिङ संघले विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा ड्युटीमा रहेका नर्सहरूमाथि बिरामी तथा उनका आफन्तबाट भएको अभद्र व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ। संघले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको कडा शब्दमा भर्त्सना गरेको हो।
विज्ञप्तिमा ड्युटीमा खटिएका नर्सहरूमाथि दुर्व्यवहार, धाकधम्की तथा अपमानजनक गतिविधि भएको उल्लेख गर्दै यस्तो व्यवहार स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा अस्वीकार्य र निन्दनीय भएको जनाइएको छ।
संघकी महासचिव डा. देवका कुमारी आचार्य र अध्यक्ष प्रा. चन्द्रकला शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।
यसका साथै, स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सरोकारवाला निकायलाई प्रभावकारी कदम चाल्न संघले आग्रह गरेको छ।
स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिको मनोबल उच्च राख्न र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न यस्ता घटनामा कडाइ गर्नुपर्नेमा संघले जोड दिएको छ। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन कानुनी तथा संस्थागत व्यवस्था सुदृढ गर्न पनि सरकारसँग माग गरिएको छ।


