

काठमाडाैं- नेपाल मेडिकल एसोसिएसन (एनएमए) को जारी निर्वाचनमा १ हजार ६७३ मत गणना सम्पन्न हुँदा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा ‘टिम मंगल’का उम्मेदवारहरूले अग्रता कायम गरेका छन्। प्रारम्भिक परिणामले प्रतिस्पर्धा कडा देखिए पनि केही मुख्य पदमा स्पष्ट अन्तर देखिएको छ।
अध्यक्ष पदमा डा. मंगल रावल ७६८ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी डा. बद्री रिजालले ६८९ मत ल्याएका छन् भने डा. नारायणप्रसाद भुसाल १९७ मतसहित तेस्रो स्थानमा छन्।
वरिष्ठ उपाध्यक्ष पदमा डा. किर्तिपाल सुवेदी ७०० मतसहित अगाडि छन्। उनलाई डा. सञ्जीव तिवारीले ६४० मतसहित पछ्याइरहेका छन् भने डा. अजयकुमार मिश्रा २३८ मतसहित तेस्रो स्थानमा छन्।
महासचिव पदमा ‘टिम मंगल’कै डा. कालु सिंह खत्री ५९८ मतसहित अग्रस्थानमा छन्। डा. विश्वराज दवाडी ५७१ मतसहित नजिकबाट पछ्याइरहेका छन् भने डा. अमृत भुसाल ४१५ मतसहित तेस्रो स्थानमा छन्।
प्रदेशगत उपाध्यक्षतर्फ कोशीमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्रा, बागमतीमा डा. सुवास भट्टराई, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. नन्दा कुमारी गुरुङ, कर्णालीमा डा. रबिन खड्का र सुदूरपश्चिममा डा. प्रमोद जोशी अग्रस्थानमा रहेका छन्।
अन्य पदहरूमा कोषाध्यक्षमा डा. सम्युक्ता आचार्य, सह–महासचिवमा डा. हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल अगाडि रहेका छन्। सदस्य पदका लागि शीर्ष ६ भित्र डा. सुष्मित काफ्ले, डा. हिमलाल भण्डारी, डा. अरुण उप्रेती, डा. शेषराज घिमिरे, डा. अमित झा र डा. पाल्पसा श्रेष्ठ परेका छन्।
हालसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मतगणना सम्पन्न भइसकेको छ भने बागमती प्रदेशको चितवनमा मतगणना जारी छ। बागमती, मधेश र कोशी प्रदेशका बाँकी मत गणना हुन अझै बाँकी रहेको छ।


