
काठमाडौं – नेपाल चिकित्सक संघ (एनएमए) को जारी निर्वाचनको प्रारम्भिक मतगणनामा अध्यक्ष पदमा डा. मंगल रावलले अग्रता कायम गरेका छन् भने अन्य प्रमुख पदहरूमा कडा प्रतिस्पर्धा देखिएको छ ।
अध्यक्ष पदतर्फ हालसम्म गणना भएका ५९८ मतमध्ये डा. रावलले ३०५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा. बद्री रिजालले २३६ मत पाएका छन् भने डा. नारायणप्रसाद भुसालले ५४ मत ल्याएका छन् । कुल मतमध्ये ३ मत बदर भएको छ ।
वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा निकै रोचक बनेको छ । डा. सञ्जीव तिवारी २५५ मतसहित अग्रस्थानमा छन् भने डा. किर्तिपाल सुबेदी २३३ मतसहित पछ्याइरहेका छन् । डा. अजयकुमार मिश्राले ८८ मत प्राप्त गरेका छन् ।
महासचिव पदतर्फ पनि कडा प्रतिस्पर्धा देखिएको छ । डा. विश्वराज दवाडी २८८ मतसहित अघि छन् भने डा. कालुसिंह खत्री २१२ मतसहित पछ्याइरहेका छन् । डा. अमृत भुसालले १३८ मत प्राप्त गरेका छन् ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।



