
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा बसोबास गरिरहेका सुकुमबासीलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट थप उपचार आवश्यक देखिएका २३ जनालाई रिफर गरिएको छ। कीर्तिपुरस्थित राधा सत्संग शिविरबाट १७ जनालाई वीर अस्पताल र ६ जना बालबालिकालाई कान्ति बाल अस्पताल पठाइएको हो।
सुकुमबासी व्यवस्थापन कार्यक्रमअन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका नागरिकलाई सेवा दिन मन्त्रालयले कीर्तिपुर र त्रिपुरेश्वरमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। कीर्तिपुरमा आयोजित एकदिने शिविरमा ८२ जनाले सेवा लिएका छन्। तीमध्ये ४२ जनाको साधारण स्वास्थ्य परीक्षण, २० जनाको आँखा परीक्षण, २० जनाको दन्त जाँच तथा १४ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। शिविरमा ४६ जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो भने केहीलाई मनोसामाजिक परामर्शसमेत प्रदान गरिएको थियो।
यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको तीनदिने शिविरको पहिलो दिन १ सय ४० जनाले सेवा लिएका छन्। सेवा लिनेमध्ये १०१ महिला र ३९ पुरुष रहेका छन्। त्यसमध्ये ४५ जना ज्येष्ठ नागरिक र ५ जना बालबालिका छन्।
शिविरमा आएका बिरामीहरूमा उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्राइटिस, झाडापखाला, दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी समस्या, विभिन्न संक्रमण तथा चोटपटकजस्ता समस्या देखिएको चिकित्सकहरूले बताएका छन्। मन्त्रालयका उच्च पदाधिकारीहरूले दुवै शिविरको स्थलगत अनुगमनसमेत गरेका छन्।



