
काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं उपत्यकाभित्र आजदेखि मतदान सुरु भएको छ। निर्वाचन समितिका अनुसार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा आज र भोलि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदान सञ्चालन हुनेछ।
यसअघि पहिलो चरणअन्तर्गत काठमाडौं उपत्यकाबाहिरका २३ मतदान केन्द्रमा वैशाख ४ र ५ गते मतदान सम्पन्न भइसकेको छ। निर्वाचन समितिका अनुसार उपत्यका बाहिर कुल ४ हजार २४४ मत खसेको थियो। अब उपत्यकाभित्रको मतदान सम्पन्न भएपछि संघको नयाँ नेतृत्वको टुंगो लाग्नेछ।
यसपटक संघको १९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि तीन समूहबीच प्रतिस्पर्धा भइरहेको छ। अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, सात प्रदेशबाट १–१ जना उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह–कोषाध्यक्ष १ र सदस्य ६ गरी कुल १९ पदका लागि ५५ जना उम्मेदवार मैदानमा छन्।
डा. बद्री रिजाल नेतृत्वको समूहबाट अध्यक्षमा डा. बद्री रिजाल उम्मेदवार छन् भने वरिष्ठ उपाध्यक्षमा डा. सन्जिब तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल उम्मेदवार छन्। प्रदेश उपाध्यक्षतर्फ कोशीमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, गण्डकीमा डा. नवराज लम्डारी, लुम्बिनीमा डा. नन्दा गुरुङ, कर्णालीमा डा. सुरजकुमार गिरी र सुदूरपश्चिममा डा. प्रमोद जोशी उम्मेदवार छन्। सदस्यमा डा. परशुराम घिमिरे, डा. राकेश साह, डा. सुमेध मिश्र, डा. बिना श्रेष्ठ, डा. हिमलाल भण्डारी र डा. सुस्मित काफ्ले रहेका छन्।
यस्तै, डा. मंगल रावल समूहबाट अध्यक्षमा डा. मंगल रावल उम्मेदवार छन्। वरिष्ठ उपाध्यक्षमा डा. कीर्तिपाल सुवेदी, महासचिवमा डा. कालुसिंह खत्री, कोषाध्यक्षमा डा. चन्दनी जयसवाल, सहसचिवमा डा. रामजीवन प्रसाद र सह–कोषाध्यक्षमा डा. सुवास गुरुङ उम्मेदवार छन्। प्रदेश उपाध्यक्षतर्फ कोशीमा डा. टंक बाराकोटी, मधेशमा डा. उदयनारायण सिंह, बागमतीमा डा. अरुण शाही, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. सन्तोष पोखरेल, कर्णालीमा डा. रविन खड्का र सुदूरपश्चिममा डा. निरज अर्याल उम्मेदवार छन्। सदस्यमा डा. अमित झा, डा. अरुण उप्रेती, डा. निराजन तामाङ, डा. जेबाना अन्सारी, डा. दिक्षा बोहरा र डा. पल्पसा श्रेष्ठ रहेका छन्।
‘टिम रिफर्म’को नाममा प्रतिस्पर्धामा उत्रिएको डा. नारायण भुषाल समूहबाट अध्यक्षमा डा. नारायण भुषाल उम्मेदवार छन्। वरिष्ठ उपाध्यक्षमा डा. अजयकुमार मिश्र, महासचिवमा डा. अमित भुषाल, कोषाध्यक्षमा डा. विनोदकुमार महाशेठ, सहसचिवमा डा. सन्तोष अधिकारी र सह–कोषाध्यक्षमा डा. राजकुमार दंगाल उम्मेदवार छन्। प्रदेश उपाध्यक्षतर्फ कोशीमा डा. हरिशंकर कार्की, मधेशमा डा. मोहम्मद आनामुल हक, बागमतीमा डा. एकानन्द सिंह, लुम्बिनीमा डा. लक्ष्मण शर्मा र कर्णालीमा डा. अनुप समाल उम्मेदवार छन्। सदस्यमा डा. आरती शाह, डा. गणेश चौधरी, डा. जीवन क्षेत्री, डा. विजयबाबु शाह, डा. शेषराज घिमिरे र डा. भवानी शिल्पकार उम्मेदवार रहेका छन्।
उपत्यकाभित्रको मतदान सकिएसँगै नेपाल चिकित्सक संघको नयाँ नेतृत्वको औपचारिक घोषणा गरिनेछ।



