
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले दर्तावाल चिकित्सकहरूलाई स्वीकृत तथा वैधानिक स्वास्थ्य संस्था र क्लिनिकहरूमा मात्र सेवा प्रदान गर्न निर्देशन दिएको छ। काउन्सिलले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
काउन्सिलका अनुसार, चिकित्सकहरूले कुनै पनि स्वास्थ्य संस्था वा क्लिनिकमा आबद्ध हुनु अघि त्यस संस्थाको दर्ता, वैधानिकता तथा स्वीकृत सेवाहरूको अवस्थाबारे यथोचित जानकारी लिएर सुनिश्चित गर्नुपर्नेछ। साथै, सेवा प्रदान गर्ने संस्थाको क्षमता (क्यापासिटी) समेत बुझेर मात्र काम सुरु गर्न आग्रह गरिएको छ।
सूचनामा चिकित्सकहरूले आफ्नो शैक्षिक योग्यता, दर्ता स्थिति र प्रदान गर्ने सेवाको प्रकृतिसँग मेल खाने संस्थामा मात्र कार्य गर्नुपर्ने उल्लेख गरिएको छ।
दर्ता नभएका स्वास्थ्य संस्थामा काम गर्नु वा त्यस्ता संस्थासँग आवद्ध हुनु पेशागत आचारसंहिता तथा प्रचलित कानुनको उल्लङ्घन हुने काउन्सिलले स्पष्ट पारेको छ। यस्तो कार्यमा संलग्न चिकित्सकहरूलाई नेपाल मेडिकल काउन्सिल ऐन तथा नियमावली अनुसार आवश्यक अनुशासनात्मक कारबाही गरिने चेतावनी पनि दिइएको छ।



