
नेपालगन्ज- भेरी अस्पताल नेपालगन्जका चिकित्सकहरूले आफूमाथि दुर्व्यवहार, हातपात र ज्यान मार्ने धम्की आएको भन्दै ओपिडी सेवा बन्द गरी आन्दोलनमा उत्रिएपछि उपचारका लागि आएका बिरामीहरू मारमा परेका छन्। आन्दोलनका कारण पछिल्ला दुई दिनदेखि अस्पतालको ओपिडी सेवा पूर्ण रूपमा ठप्प रहेको छ।
बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरकी ६० वर्षीया दिलसरा विकको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै चिकित्सकमाथि दुर्व्यवहार र हातपात गरेका थिए। सोही घटनापछि असुरक्षाको कारण देखाउँदै ओपिडी सेवा बन्द गरिएको भेरी अस्पतालका प्रमुख डा. निराजन सुवेदीले जानकारी दिए।
उनका अनुसार बिरामीलाई बचाउने प्रयासका बाबजुद मृत्यु भएको घटनालाई लिएर चिकित्सकमाथि भौतिक आक्रमण र ज्यान मार्ने धम्की दिइएकाले सुरक्षाको सुनिश्चितता नभएसम्म ओपिडी सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको हो।
ओपिडी सेवा बन्द हुँदा टाढा–टाढाबाट उपचारका लागि आएका बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। बुधबार भेरी अस्पताल पुगेका बर्दियाको मैनापोखरका दीपक थापाले उपचार गर्न नपाउँदा ठूलो समस्या भएको बताए। यस्तै, डुडुवा–कम्दीका रमेश मौर्यले पनि उपचारका लागि आएर जाँच गर्न नपाउँदा निजी अस्पतालतर्फ जान बाध्य भएको गुनासो गरे।
अस्पताल परिसरमा पुगेका अन्य बिरामीहरूले पनि ओपिडी सेवा सुचारु गर्न माग गर्दै इमर्जेन्सी विभाग अगाडि भेला भएर विरोध जनाएका छन्।
यसैबीच, नेपाल चिकित्सक सङ्घ भेरी शाखाले चिकित्सकमाथि भएको आक्रमण र धम्कीको घटनालाई निन्दनीय भन्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ। सङ्घले २४ घण्टाभित्र माग पूरा नभए देशभरका सरकारी तथा निजी अस्पताल, क्लिनिकमा इमर्जेन्सी बाहेकका सेवा बन्द गर्ने चेतावनीसमेत दिएको छ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था नै नरहेको बताए।
घटनापछि मृतकका छोरा सुरेश विकले उपचारमा लापरबाही भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएका छन् भने अस्पताल प्रशासनले पनि धम्की र हातपात गर्ने विरुद्ध प्रहरीमा जाहेरी दिएको छ।
सो घटनापछि सोमबारदेखि भेरी अस्पतालमा तनावपूर्ण अवस्था रहँदै आएको थियो। समस्या समाधानका लागि प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसमेत अस्पताल पुगेका थिए। कानुनी प्रक्रियामा जाने सहमति भए पनि चिकित्सकमाथि भएको दुर्व्यवहारपछि अवस्था थप जटिल बनेको अस्पतालले जनाएको छ। मृतकको शव भने मङ्गलबार आफन्तले बुझेर अन्त्येष्टि गरेका छन्।



