
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगको विषयमा गम्भीर ध्यान दिँदै तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएकी छिन्।
जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत इन्धन लिने गरिएको तथ्य बाहिर आएपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई विस्तृत अनुसन्धान गर्न निर्देशन दिएकी हुन्।
उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ वटा र मातहतका निकायका थप ६ वटा गरी कुल २४ वटा सवारी साधन जलेका थिए। तीमध्ये अधिकांश सवारी साधन पूर्ण रूपमा क्षतिग्रस्त भई प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्।
तर, यिनै काम नलाग्ने सवारी साधनको विवरण देखाएर कर्मचारीहरूले निरन्तर इन्धन सुविधा लिँदै आएको पाइएपछि मन्त्रालयभित्रै अनियमितता भएको आशंका बलियो बनेको छ।
मन्त्री मेहताले यस्तो कार्यलाई गम्भीर दुरुपयोगको रूपमा लिँदै यथार्थ छानबिन गरी संलग्न कर्मचारीमाथि कडा कारबाही गर्न स्पष्ट निर्देशन दिएकी छन्।



