
काठमाडौं- सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गर्दै वैशाख महिनाभर ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत खोप तथा बाल स्वास्थ्य शाखाका अनुसार पाँच वर्षमुनिका बालबालिकालाई आवश्यक सबै खोप सुनिश्चित गर्न यो अभियान अघि बढाइएको हो।
अभियान अन्तर्गत १५ महिनाभित्र लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध नौ प्रकारका खोप प्रदान गरिने जनाइएको छ। सरकारले यसअघि मङ्सिर र पुस महिनामा खोप लगाउन बाँकी रहेका बालबालिकाको तथ्यांक संकलन गरेको थियो।
उपलब्ध तथ्यांकअनुसार नेपालमा करिब ९० प्रतिशत बालबालिकाले पूर्ण मात्रा खोप पाएका छन् भने १० प्रतिशत बालबालिका अझै सबै खोपबाट वञ्चित छन्। त्यसमध्ये करिब १ प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको अवस्था रहेको छ।
बालबालिकालाई रोग, अपाङ्गता तथा अकाल मृत्युदेखि जोगाउन जन्मेदेखि पाँच वर्षसम्मको उमेरमा विभिन्न खोप लगाउने गरिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार खोप कार्यक्रमको प्रभावका कारण नेपालमा सन् १९९६ मा प्रति हजार जीवित जन्ममा ११८ रहेको पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सन् २०२३ मा घटेर २६.५ मा झरेको छ।
केही जिल्लामा खोप छुटेका बालबालिकाको संख्या बढ्दै जाँदा दादुरा–रुबेलाजस्ता रोगको प्रकोप देखिन थालेपछि सरकारले ‘खोज र खोप’ अभियान सञ्चालन गरी छुटेका बालबालिकालाई खोप दिने कार्यलाई तीव्रता दिएको हो।



