
भारत- भारतको झारखण्ड राज्यस्थित गिरिडीह जिल्लामा गोलगप्पा (पानीपुरी) र चाट खाँदा एक सात वर्षीय बालकको मृत्यु भएको छ भने १८ जना बिरामी परेका छन् । घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ ।
मुफस्सिल प्रहरी चौकीअन्तर्गत पर्ने लेडा बाजटो गाउँमा शनिबार साँझ एक ठेला व्यवसायीले गोलगप्पा र चाट बिक्री गरेका थिए । ती परिकार ठूलो संख्यामा गाउँलेहरूले खाएका थिए ।
खाना खाएको केही घण्टापछि नै शनिबार रातिदेखि महिलाहरू र बालबालिकासहित धेरै व्यक्तिमा पेट दुख्ने, बान्ता हुने तथा असहज महसुस हुने समस्या देखिएको थियो । त्यसपछि २० भन्दा बढी बिरामीलाई आइतबार बिहान उपचारका लागि सदर अस्पताल पुर्याइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सदर उप–प्रहरी अधिकारी जीतवाहन उराँवका अनुसार प्रारम्भिक जाँचमा बिरामीहरूमा फुड पोइजनिङ भएको देखिएको छ । अस्पताल स्रोतका अनुसार उपचाररत अन्य बिरामीहरूको अवस्था हाल स्थिर रहेको छ ।
घटनापछि प्रहरीले गोलगप्पा बेच्ने व्यवसायीको खोजी थालेको छ भने विस्तृत अनुसन्धान जारी राखिएको छ । साथै, स्थानीय प्रशासनले सडक किनारमा बेचिने खुला खानेकुरा सेवन गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।



