
काठमाडौं – स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौंमा आयोजना हुने भएको छ। दक्षिण एसियाकै महत्वपूर्ण मानिएको यो प्रदर्शनी वैशाख १७ देखि १९ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
एसडी प्रोमो मिडिया प्रालिले केमसान नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको एक्स्पोमा यस वर्ष ४७५ भन्दा बढी प्रदर्शक सहभागी हुनेछन्। साथै ८०० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड र १,००० भन्दा बढी स्वास्थ्यसम्बन्धी उत्पादन तथा सेवाहरू एकै स्थानमा प्रदर्शन गरिने आयोजकले जनाएको छ।
प्रदर्शनीलाई स्वास्थ्य सेवा, औषधि तथा अनुसन्धान क्षेत्रका लागि महत्वपूर्ण ‘बीटुबी’ प्लेटफर्मका रूपमा लिइएको छ। यसमार्फत व्यापारिक सहकार्य विस्तार, नयाँ प्रविधिको आदान–प्रदान र उच्चस्तरीय नेटवर्किङका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
एक्स्पोमा सिमेन्स, फिलिप्स, फुजीफिल्म, थर्मो फिसर साइन्टिफिक, ह्युमन डायग्नोस्टिक, स्निबे, डागर र सीटीके बायोटेकजस्ता विश्वप्रसिद्ध ब्रान्डहरूको सहभागिता रहनेछ। यसले नेपालमा आधुनिक स्वास्थ्य प्रविधिको प्रयोग विस्तार गर्न र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
आयोजकका अनुसार प्रदर्शनी अस्पताल, नर्सिङ होम, डायग्नोस्टिक सेन्टर, औषधि कम्पनी, अनुसन्धान संस्था, विश्वविद्यालय, मेडिकल कलेज तथा ब्लड बैंकसँग सम्बन्धित निर्णयकर्ता र खरिदकर्ताहरूका लागि विशेष उपयोगी हुनेछ।



