
काठमाडौं- अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीहरूलाई काठमाडौं महानगरपालिकाले शारीरिक तथा मानसिक स्वास्थ्य सेवा प्रदान गरेको छ। महानगरले स्वास्थ्यकर्मीको टोली परिचालन गरी उनीहरूको स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा उपलब्ध गराएको हो।
स्वास्थ्य विभागका अनुसार हालसम्म ६ जना (४ पुरुष र २ महिला) कम रक्तचापको समस्याबाट प्रभावित देखिएका छन्। त्यस्तै, २ जना पुरुषमा ढाड तथा जोर्नी दुखाइ, १८ पुरुष र ६ महिलामा टाउको दुखाइ, २ जना गर्भवती महिला तथा एक जनामा चोटपटकको समस्या देखिएको छ। साथै विभिन्न अन्य स्वास्थ्य समस्या भएका थप १२ जनालाई पनि उपचार सेवा प्रदान गरिएको छ।
महानगरले शारीरिक स्वास्थ्यसँगै मनोसामाजिक परामर्श पनि प्रदान गरेको छ। पारिवारिक तनाव, रोजगारीको अनिश्चितता, बालबालिकाको शिक्षा निरन्तरता तथा व्यक्तिगत समस्या लगायतका विषयमा परामर्श दिइएको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले जानकारी दिएका छन्।
परामर्श लिनेहरूमा बहुविवाहको असर भोगिरहेका व्यक्ति, अभिभावकविहीन महिला, विद्यालय उमेरका बालबालिका तथा रोजगारीका कारण मानसिक दबाबमा रहेका अभिभावकहरू समेत रहेका छन्। धेरैजसोमा भविष्य, पारिवारिक जिम्मेवारी र जीवनयापनका विषयमा चिन्ता देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
महानगरले जोखिममा रहेका समुदायलाई लक्षित गर्दै स्वास्थ्य सेवा र परामर्श कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



