
चितवन- चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले गत चैत २५ गते आफ्नो ७० औँ वार्षिकोत्सव भव्य रूपमा मनायो । वार्षिकोत्सव अस्पतालका ४८ औँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले मनाए । उनको त्यो तेस्रो कार्यकाल थियो । विशेषज्ञ सेवा सहित उत्कृष्ट सेवा दिर्दै आएको छ ।
उनकै कार्यकालमा यस अस्पतालले गतवर्ष भएको न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा संघीय अस्पतालहरुमा देशकै पहिलो भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मुल्याङ्कनमा ८८ प्रतिशत अङ्क सहित भरतपुर अस्पताल देशकै पहिलो अस्पताल बनेको हो ।
‘ग्रिनजोन’ स्टिकर समेत प्राप्त गर्यो । ‘ग्रिनजोन’ स्टिकर ८५ प्रतिशतभन्दा वढी अङ्क ल्याउने अस्पताललाई मात्रै दिइने गरिन्छ । ‘ग्रिनजोन’ स्टिकर पाउने यो एक मात्रै अस्पताल हो । वार्षिकोत्सवको भोलिपल्टै अस्पतालले नयाँ मेसु पायो । अस्पतालको ४९ औँ प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मा डा. विश्वबन्धु बगालेले पाए । डा. बगालेको सो जिम्मेवारी अस्पतालको लागि दोस्रो कार्यकाल हो । अस्पतालको तथ्याङ्क अनुसार उनले ३९ औँ मेसुको रूपमा वि.सं. २०७६ जेठ २ गतेदेखि असार १८ गतेसम्म झन्डै डेढमहिना आफ्नो जिम्मेवारी सम्हालेका थिए ।

यस अस्पतालको स्थापना वि.सं. २०१३ सालमा राप्ती दुन उपत्यका विकास समिति र अमेरीकी सरकारको संयुक्त प्रयासमा सामान्य स्वास्थ्य केन्द्रबाट शुरू भएको पाईन्छ । पछि गएर वि.सं. २०२० सालमा महेन्द्र आर्दश चिकित्सालयको रुपमा नामकरण भएको थियो । वि.सं. २०६२/०६३ को ऐतिहासिक जन आन्दोलनपछि यस अस्पतालको नाम महेन्द्र आदर्श चिकित्सालयबाट परिवर्तन भई भरतपुर अस्पताल रहन गएको हो । त्यस्तैगरी वि.सं. २०५९ सालमा अस्पताल विकास समिति स्थापना भएको थियो ।

१५ शय्याबाट शुरु भएको यो अस्पताल वि.सं. २०६७ सालमा ४ सय १५ शय्या हुँदै हाल करिब ६ सय शय्या भन्दा बढिमा सञ्चालित छ । यस अन्तर्गत नेपाल सरकारको ३ सय शय्या र अस्पताल विकास समिति अन्तर्गत ३ सय शय्या सञ्चालनमा छ ।
नेपालको मध्य भागमा रहेको चितवन जिल्लामा अवस्थित भरतपुर अस्पताल बिशिष्ट एवं अति विशिष्ट सेवाहरू प्रदान गर्ने नेपाल सरकारको यस क्षेत्रकै विश्वासिलो अस्पताल रही आएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति वि.सं. २०७५ चैत ३ गतेको निर्णयानुसार यस अस्पताललाई विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नती गरी संघीय सरकार अन्तर्गत राखिएको छ । यो अहिले केन्द्रीय अस्पताल बनेको छ ।

मध्य नेपालको आशाको केन्द्र भरतपुर अस्पताल नेपालको मध्यभागमा अवस्थित यस भरतपुर केन्द्रीय अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । यस अस्पतालले आफ्नो ३१ विगाहा जमिनमा व्यवस्थित पूर्वाधार निर्माण गरि नेपाल कै एक नमुना केन्द्रिय अस्पतालको रुपमा विकास गर्न सकिने सम्भावना बोकेको छ ।

अस्पतालको निर्माणाधिन भवन पुरागरी बाँकी भवन निर्माण तथा पूर्वाधार विकासको काम शुरुवात गर्दै गुरुयोजनालाई पुरा गर्ने योजनामा अस्पताल रहेको छ ।









