
काठमाडौँ – वीरगन्जस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूमाथि कडा र अपमानजनक नियमहरू लागू गरेको भन्दै नेपाल चिकित्सक सङ्घ (एनएमए) ले गम्भीर आपत्ति जनाएको छ। सङ्घले ती निर्णयहरू अविलम्ब फिर्ता लिन कलेज प्रशासनलाई चेतावनी दिएको छ।
नेपाल चिकित्सक सङ्घका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिअनुसार, कलेजले आवासीय चिकित्सकहरूलाई आवास, खाना र इन्टरनेट शुल्क वार्षिक रूपमा अनिवार्य तिर्नुपर्ने व्यवस्था गरेको छ।
त्यसैगरी, चिकित्सकहरूलाई अनिवार्य रूपमा होस्टेलमा बस्न बाध्य पारिएको र भर्नाका क्रममा उनीहरूको सक्कल प्रमाणपत्र कलेजले नियन्त्रणमा राखेको तथ्य बाहिर आएको सङ्घले जनाएको छ।
सङ्घका अनुसार, कलेज प्रशासनले चिकित्सकहरूलाई दिनमा चार पटकसम्म हाजिर गराउने अभ्यासमार्फत मानसिक दबाब दिने गरेको गुनासो पनि प्राप्त भएको छ।
नेपाल चिकित्सक सङ्घले यी कार्यहरूलाई चिकित्सकहरूको व्यक्तिगत स्वतन्त्रता र पेसागत मर्यादामाथिको आघात भन्दै कडा शब्दमा भर्त्सना गरेको छ। “चिकित्सकलाई निरन्तर निगरानीमा राख्नु र शैक्षिक कागजात नियन्त्रणमा राख्नु कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन,” विज्ञप्तिमा उल्लेख छ।
सङ्घले कलेज प्रशासनलाई तत्काल गलत निर्णयहरू सच्याउन र चिकित्सकहरूलाई मर्यादित तथा स्वतन्त्र वातावरणमा काम गर्ने सुनिश्चितता गर्न जोडदार माग गरेको छ।




