
बनेपा- स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम लामो समयदेखि पूरा नहुँदा नागरिकहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका छन्। गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यले सरकारले २०७७/७८ मा सुरु गरेको आधारभूत अस्पताल निर्माण योजना पाँच वर्ष बितिसक्दा पनि धेरै स्थानीय तहमा अधुरै छ।
सरकारले सो आर्थिक वर्षमा देशभरका ३९६ स्थानीय तहमा एकैसाथ आधारभूत अस्पताल निर्माणको शिलान्यास गर्दै दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। तर काभ्रेपलाञ्चोक जिल्लामा अधिकांश स्थानीय तहमा अझै अस्पताल निर्माण सम्पन्न हुन सकेको छैन भने निर्माण सम्पन्न भएका स्थानमा समेत सेवा सञ्चालन हुन सकेको छैन।
हाल जिल्लाको धुलिखेल नगरपालिका र बेथानचोक गाउँपालिकामा अस्पताल भवन निर्माण सम्पन्न भए पनि सेवा पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। धुलिखेलमा भने हाल स्वास्थ्य चौकीमार्फत विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट सेवा दिइँदै आएको जनाइएको छ।
बेथानचोक गाउँपालिकामा भवन निर्माण सम्पन्न भए पनि अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन नहुँदा सेवा सुरु हुन सकेको छैन। गाउँपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीका अनुसार भवन निर्माण एक वर्षअघि नै सकिए पनि संघीय सरकारबाट प्राप्त हुनुपर्ने ७० लाख रुपैयाँ अझै आउन बाँकी छ।
जिल्लाका महाभारत, खानीखोला, चौँरीदेउराली, भुम्लु गाउँपालिका तथा मण्डनदेउपुर नगरपालिकामा आधारभूत अस्पताल निर्माण कार्य जारी रहेको छ। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार अस्पताल भवन निर्माणको करिब ६० प्रतिशत काम सम्पन्न भएको छ। तर संघीय सरकारले बजेट निकासा ढिलाइ गर्दा निर्माण व्यवसायीले काममा ढिलाइ गर्ने गरेको गुनासो उनले गरेका छन्।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले मन्त्रालयबाट बजेट अभाव नहुने भनिए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण काम प्रभावित भएको बताए।
भुम्लु गाउँपालिकामा अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ र वैशाखभित्र हस्तान्तरण हुने अपेक्षा गरिएको छ। चौँरीदेउराली गाउँपालिकामा भने असारभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता अनुसार काम भइरहेको छ।
मण्डनदेउपुर नगरपालिकामा पनि अस्पताल भवन निर्माण तीव्र गतिमा भइरहेको छ। असारभित्र संरचना निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि रङरोगन लगायतका केही काम बाँकी रहेको जनाइएको छ।
रोशी गाउँपालिकामा गत वर्षको बाढीले अन्तिम चरणमा रहेको अस्पताल भवन बगाएपछि नयाँ स्थानमा जग्गा पहिचान गरिएको छ। गाउँपालिकाले वडा नम्बर २ मा नयाँ जग्गा पहिचान गरेको भए पनि औपचारिक निर्णय र मन्त्रालयमा पठाउने प्रक्रिया बाँकी छ।
पनौती नगरपालिकामा भने नयाँ भवन निर्माणका लागि बजेट नआएकाले पुरानै भूकम्पकालीन भवनबाट अस्पताल सञ्चालन गर्ने तयारी गरिएको छ। नगर प्रमुख रामशरण भण्डारीका अनुसार प्रदेश सरकारबाट एक्सरे र प्रयोगशालाका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै बनेपा नगरपालिकाले वडा नम्बर ४ नाला स्वास्थ्य चौकीको भवनबाट १५ शय्याको अस्पताल सञ्चालन गरिरहेको छ। पाँचखाल नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत पाँच शय्याको अस्पताल सेवा दिइरहेको छ भने मण्डनदेउपुर नगरपालिकाले कोभिडपछि पाँच शय्याको आफ्नै अस्पताल सञ्चालनमा ल्याएको छ।
नमोबुद्ध नगरपालिकामा प्रादेशिक अस्पताल रहेकाले छुट्टै आधारभूत अस्पताल निर्माण गरिएको छैन भने तेमाल गाउँपालिकामा जग्गा प्राप्त हुन नसक्दा योजना अघि बढ्न सकेको छैन।
सरकारले पाँच शय्याको अस्पतालका लागि ७ करोड १० लाख ९८ हजार, १० शय्याका लागि १० करोड ८३ लाख ३६ हजार र १५ शय्याका लागि १८ करोड ६ लाख ८२ हजार रुपैयाँ विनियोजन गरेको थियो। तर कार्यान्वयन ढिलाइका कारण योजना अपेक्षित गतिमा अघि बढ्न नसकेको स्थानीय तहहरूले बताएका छन्।



