
सर्लाही- सर्लाहीको सदरमुकाम मलङ्गवामा अवैध रूपमा सञ्चालन भइरहेका ११ वटा स्वास्थ्य संस्था शील गरिएको छ। दर्ता बिना सञ्चालनमा रहेको तथा मापदण्ड उल्लङ्घन गरेको पाइएपछि संयुक्त अनुगमन टोलीले कारबाही गरेको हो।
जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य कार्यालय, नगरपालिका, प्रादेशिक अस्पताल तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको संयुक्त टोलीले बिहीबार अनुगमन गर्दै ती संस्थालाई बन्द गराएको हो। सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार दर्ता नभएका र नियमविपरीत सञ्चालन भइरहेका स्वास्थ्य संस्थामाथि कडाइ गरिएको छ।
अनुगमनका क्रममा सर्लाही पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर, ठाकुर सेवा उपचार, कल्याण हेल्थ केयर, सिद्धि गणपति पोलिक्लिनिक, प्रेमा हेल्थ केयर सेन्टर, अन्जली पोलिक्लिनिक, महतो क्लिनिक तथा निलम फार्मेसी, माली मेडिकल, जय माँ सुनैना हेल्थ केयर, लाइफ लाइन मेडिमेयर पोलिक्लिनिक र एक नामविहीन अल्ट्रासाउन्ड क्लिनिक शील गरिएको छ।
शील गरिएका संस्थामध्ये चारवटा पूर्ण रूपमा दर्ताविहीन रहेको पाइएको छ भने बाँकी सातवटाका सञ्चालक अनुगमनको जानकारी पाएपछि सम्पर्कविहीन भएका छन्। सञ्चालक अनुपस्थित र संस्था बन्द अवस्थामा भेटिएपछि शील गरिएको टोलीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिहानदेखि साँझसम्म १६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिएको थियो। तीमध्ये पाँचवटा दर्ता भएका संस्थालाई भने नवीकरणसहित अन्य कानुनी प्रक्रिया पूरा गर्न एक साताको समय दिइएको छ।
यसअघि २०८१ फागुन अन्तिम साता तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहको नेतृत्वमा गरिएको अनुगमनमा पनि मलङ्गवाका अधिकांश स्वास्थ्य संस्था अवैध पाइएपछि १५ वटा अस्पताल बन्द गर्न निर्देशन दिइएको थियो। तर ती संस्थाहरू पुनः सञ्चालनमा आएको गुनासो बढ्दै आएको छ।
अवैध रूपमा सञ्चालित स्वास्थ्य संस्थामाथि बिरामीमाथि मनपरी उपचार गर्ने, चर्को शुल्क असुल्ने तथा अदक्ष जनशक्ति प्रयोग गर्ने आरोप लाग्दै आएका छन्। केही महिनाअघि लालबन्दी–१ नवलपुरमा अवैध आयुर्वेद औषधालयमा उपचारका क्रममा एक किशोरीको मृत्यु भएपछि यस्ता संस्थामाथि निगरानी कडाइ गर्नुपर्ने माग उठेको थियो।
स्थानीय तहको नियमित अनुगमन कमजोर हुँदा अवैध स्वास्थ्य संस्था फस्टाउँदै गएको स्थानीयवासीको गुनासो छ। विगतमा अनुगमनका क्रममा विवाद र हातपातका घटना भएपछि जनप्रतिनिधिहरू समेत सक्रिय रूपमा अनुगमनमा नजाने अवस्था देखिएको छ।
लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानीले पटक–पटक निर्देशन दिँदा पनि अवैध अस्पतालहरूले अटेरी गर्दै आएको स्वीकार गरेका छन्। प्रभावकारी अनुगमनका लागि सबै निकायबीच समन्वय आवश्यक रहेको उनले बताएका छन्।



