
काठमाडाैं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र कर्णाली क्षेत्रको स्वास्थ्य–शिक्षा सुधारका लागि उपकुलपति डा. पुजन रोकायाले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसमक्ष आठबुँदे प्रस्ताव पेश गरेका छन् ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटघाटमा डा. रोकायाले कर्णालीका विशेष समस्या र चुनौतीलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले प्रतिष्ठानलाई सबल बनाउन संरचनागत विकासदेखि शैक्षिक सुधारसम्मका विषयहरू उठाएका छन् ।
प्रस्तावमा जुम्लाको चेरेचौरमा शैक्षिक तथा आवासीय भवन निर्माणका लागि बहुवर्षीय योजनाको स्रोत सुनिश्चित गर्नुपर्ने, समुदायबाट थप जग्गा प्राप्तिका लागि राजस्व शुल्क छुटको व्यवस्था गर्नुपर्ने माग समावेश छ ।
त्यस्तै, कर्णालीलगायत पिछडिएका क्षेत्रका विद्यार्थीलाई अवसर सुनिश्चित गर्न राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ संशोधन गरी आरक्षणको व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन् ।
उपकुलपति रोकायाले प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा–सुविधा, स्तरोन्नति र वृत्ति विकास सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । साथै, विशिष्टीकृत स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक जनशक्ति र अत्याधुनिक उपकरण (एमआरआई लगायत) उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।
आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पर्याप्त बजेट विनियोजन, दरबन्दी अनुसार बजेट सुनिश्चितता तथा अर्थ मन्त्रालय र लोक सेवा आयोगबीच समन्वय आवश्यक रहेको पनि उनले बताएका छन् ।
यसैगरी, कर्णालीका बहुमूल्य जडीबुटी तथा औषधिजन्य वनस्पतिहरूको संरक्षण, प्रवर्द्धन र अनुसन्धानलाई स्वास्थ्य शिक्षा तथा सेवासँग जोड्दै आत्मनिर्भरता हासिल गर्ने विषय पनि आठबुँदे प्रस्तावमा समेटिएको छ ।


