
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष अब अझ बढी सुरक्षित बनेको छ। विदेशबाट आउने यात्रुहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै ह्याम्स हस्पिटलले अध्यागमन क्षेत्रको आगमन कक्षमा अत्याधुनिक ‘अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर’ (एइडी) मेसिन जडान गरेको छ।
हवाई यात्रा र लामो समयको बसाइका कारण यात्रुहरूमा अचानक देखिन सक्ने हृदयघात वा आकस्मिक स्वास्थ्य समस्याको उपचारका लागि यो मेसिनले ‘गोल्डेन आवर’ मा तत्काल मद्दत पुर्याउने छ।
किन महत्त्वपूर्ण छ यो पहल ?
ह्याम्स हस्पिटलको कर्पोरेट सोसल रेस्पोन्सबिलिटी (CSR) अन्तर्गत यो मेसिन विमानस्थलको सर्वाधिक व्यस्त अध्यागमन काउन्टर नजिक राखिएको छ। अस्पतालका अनुसार यो पहलले विमानस्थलको स्वास्थ्य पूर्वाधारमा नयाँ आयाम थपेको छ।

अस्पतालका एक प्रतिनिधिले भने, “अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील स्थानमा हरेक मिनेट महत्त्वपूर्ण हुन्छ। अचानक कार्डियक अरेस्टको जोखिममा परेका यात्रुहरूका लागि यो मेसिन एक वरदान साबित हुनेछ।”
कर्मचारीका लागि विशेष तालिमको तयारी
एइडी मेसिनको प्रभावकारी प्रयोग सुनिश्चित गर्नका लागि विमानस्थलका सुरक्षाकर्मी, अध्यागमन कर्मचारी र स्वास्थ्यकर्मीहरूलाई ह्याम्स हस्पिटलका विशेषज्ञ चिकित्सकहरूले चाँडै नै विशेष तालिम प्रदान गर्ने भएका छन्। आकस्मिक अवस्थामा मेसिनको प्रयोग कसरी गर्ने र प्राथमिक उपचार कसरी सुरु गर्ने भन्ने विषयमा कर्मचारीहरूलाई दक्ष बनाउने उद्देश्यले उक्त तालिमको कार्यक्रम तय गरिएको हो।
यात्रुको सुरक्षामा नयाँ विश्वास
नेपाल भित्रिने पहिलो विन्दु (इन्ट्री पोइन्ट)मा नै यस्तो जीवनरक्षक प्रविधिको उपलब्धताले यात्रुहरूमा सुरक्षाको थप विश्वास जगाएको छ। ह्याम्स हस्पिटलले आफ्नो अस्पतालको गुणस्तरीय सेवालाई विमानस्थलसम्म पुर्याएर जनस्वास्थ्यको रक्षामा थप एक कदम अगाडि बढेको छ।
विमानस्थल प्रशासनले यस कार्यको उच्च प्रशंसा गर्दै, आगामी दिनमा सञ्चालन गरिने यस्ता तालिम र सहकार्यले विमानस्थलको स्वास्थ्य सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।


