
काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नलगाउन तथा नलगाउन गराउन सबै सरोकारवालालाई अनुरोध गरेको छ।
मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ र अन्य कर्मचारीलाई नियमानुसार श्रम सम्झौता नगरी काममा लगाइएको तथा कानुनले तोकेकोभन्दा बढी समय काम गराइएको भन्ने गुनासो प्राप्त भएको जनाएको छ। यसप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
श्रम ऐन, २०७४ अनुसार ‘रोजगार सम्झौता’ भन्नाले रोजगारदाता र श्रमिकबीच सेवा, शर्त र सुविधासम्बन्धी भएको लिखित सहमति जनाउँछ, जसमा नियुक्तिपत्रसमेत समावेश हुने व्यवस्था छ।
विज्ञप्तिमा कानुनअनुसार दैनिक ८ घण्टा र साप्ताहिक ४८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने स्पष्ट पारिएको छ। साथै, अतिरिक्त कामका हकमा दैनिक बढीमा ४ घण्टा र साप्ताहिक २४ घण्टाभन्दा बढी नहुने गरी मात्र काममा लगाउन पाइने उल्लेख गरिएको छ।
मन्त्रालयले सबै रोजगारदाता र सम्बन्धित निकायलाई प्रचलित श्रम कानुनको पूर्ण पालना गर्न निर्देशन दिएको छ। साथै, नियम उल्लंघन भएको पाइएमा श्रम ऐन, २०७४ अनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ।



