
सल्यान- जिल्ला अस्पताल सल्यानमा जटिल गर्भवती तथा सुत्केरी गराउनुपर्ने महिलाका लागि दिइँदै आएको शल्यक्रिया सेवा पूर्ण रूपमा बन्द भएको छ। एमडीजीपी चिकित्सकको अभाव भएपछि चैत्र २८ गतेदेखि सेवा ठप्प बनेको हो, जसको प्रत्यक्ष असर सेवाग्राहीहरूमा परेको छ।
अस्पतालमा शल्यक्रिया सेवा बन्द भएपछि बिरामीहरू उपचारका लागि दाङ, सुर्खेत र नेपालगञ्ज जान बाध्य भएका छन्। यसअघि जिल्लामै न्यून शुल्कमा सेवा पाइरहेका स्थानीयहरू अहिले बाहिर जानुपर्दा आर्थिक बोझ थपिएको छ। जटिल अवस्थामा रहेका गर्भवती महिलाहरूका लागि भने यो अवस्था झनै जोखिमपूर्ण बनेको छ।
सिद्ध कुमाख गाउँपालिका–५ की यमुना खड्का आफ्नी बहिनीको सुत्केरी गराउन अस्पताल पुगेकी थिइन्। उनले अस्पतालमा अप्रेसन सेवा बन्द भएको थाहा पाएपछि चिन्ता बढेको बताइन्। “अहिलेसम्म अवस्था ठीकै छ, तर बीचमा केही समस्या आए अप्रेसन गर्ने डाक्टर छैनन् भन्ने सुनेपछि धेरै डर लागेको छ,” उनले भनिन्।
यस्तै, शारदा नगरपालिका–२ की अस्मिता बस्नेतले पनि अप्रेसन सेवा नहुँदा निकै सास्ती खेप्नुपरेको गुनासो गरिन्। “डाक्टर अभावले अस्पतालमा अप्रेसन बन्द रहेछ, त्यसैले जिल्ला बाहिर जानुपर्यो,” उनले भनिन्, “सम्बन्धित निकायले छिटो डाक्टर व्यवस्था गरिदिनुपर्छ।”
जिल्ला अस्पताल सल्यानमा प्रत्येक महिना एक सयभन्दा बढी महिला सुत्केरी हुने गर्छन्, जसमध्ये केहीलाई सल्यक्रिया आवश्यक पर्छ। हाल भने सामान्य सुत्केरी सेवा मात्र सञ्चालनमा रहेको छ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख अर्जुनकुमार बुढामगरका अनुसार जटिल अवस्था भएका तथा मिति नाघेका गर्भवती महिलाहरूलाई जिल्ला बाहिर रेफर गरिँदै आएको छ। “एमडीजीपी चिकित्सकको अभावबारे संघ र प्रदेश सरकारलाई जानकारी गराएर माग गरिएको छ, तर अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन,” उनले बताए।
उनका अनुसार अस्पतालमा कार्यरत एमडीजीपी डा. बुद्धिनाथ साह बिरामी भई उपचाररत छन् भने तालिमप्राप्त मेडिकल अफिसर अध्ययनका लागि बाहिर गएका कारण सेवा प्रभावित भएको हो।


