

काठमाडौं- औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले गत २७ चैतमा मन्त्रीस्तरीय निर्णय गर्दै खड्गीलाई उक्त जिम्मेवारी सुम्पेकी हुन् ।
दशौँ तहकी वरिष्ठ औषधि व्यवस्थापक खड्गी विभागमा कार्यरत कर्मचारीमध्ये सबैभन्दा वरिष्ठ अधिकारी हुन् ।
यसअघि विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई कानूनविपरीत औषधिको मूल्य निर्धारण गरेको आरोप लागेपछि मन्त्री मेहताले उनलाई २६ चैतमा मन्त्रालय तानेकी थिइन् ।
उक्त आरोपबारे छानबिन गर्न स्वास्थ्य मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिको गठनसँगै औषधि मूल्य निर्धारण प्रक्रियामाथि गम्भीर अनुसन्धान सुरु भएको छ ।


