

काठमाडौं- आज विश्वभर अन्तरराष्ट्रिय आरोग्य दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। नेपालको पहलमा सुरु भएको यो दिवस यसै वर्षदेखि विश्वव्यापी रूपमा मनाउन थालिएको हो।
समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो। नेपालले प्रस्तुत गरेको प्रस्तावलाई महासभाले गत फागुन २६ गते अनुमोदन गरेको थियो।
यस दिवसको मुख्य लक्ष्य सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यास अपनाउन विश्व समुदायलाई प्रेरित गर्नु रहेको छ। रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्न नदिने निवारणमुखी उपाय, स्वस्थ जीवनशैली र मानिस केन्द्रित स्वास्थ्य प्रणालीमार्फत जनस्वास्थ्य सुधार गर्न सकिने विश्वास गरिएको छ। यसले स्वास्थ्य खर्च घटाउनुका साथै रोकथामयोग्य रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
संयुक्त राष्ट्रसंघले आदिवासी जनजाति तथा स्थानीय समुदायका परम्परागत ज्ञान र संस्कृतिको महत्वलाई पनि स्वीकार गरेको छ। प्रमाणमा आधारित परम्परागत चिकित्सापद्धतिले आधुनिक स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन र समग्र आरोग्य प्रवर्द्धनमा सहयोग पुर्याउने उल्लेख गरिएको छ।
राष्ट्रसंघका अनुसार यो दिवसले विश्वभर जनचेतना अभिवृद्धि, सांस्कृतिक आदानप्रदान तथा ज्ञान साझेदारीका लागि साझा मञ्च प्रदान गर्नेछ। यस अवसरमा विभिन्न देशमा विविध कार्यक्रम आयोजना भइरहेका छन्।
त्यस्तै, अन्तरराष्ट्रिय खुशी दिवस (मार्च २०), अन्तरराष्ट्रिय योग दिवस (जुन २१) र विश्व ध्यान दिवस (डिसेम्बर २१) जस्ता दिवसहरूले पनि समग्र आरोग्य प्रवर्द्धनमा सहायक भूमिका खेल्ने राष्ट्रसंघले जनाएको छ।
दिगो विकास लक्ष्य (एसडीजी) अन्तर्गत तेस्रो लक्ष्यले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ। सबै उमेर समूहका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने उद्देश्यसहित मातृ तथा शिशु स्वास्थ्य सुधार, सरुवा तथा नसर्ने रोग नियन्त्रण, आवश्यक औषधि तथा खोपमा पहुँच विस्तार, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा स्वास्थ्य असमानता न्यूनीकरणलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाइएको छ।


