

काठमाडौँ- औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई मन्त्रालयमा हाजिर हुनेगरी जिम्मेवारी परिवर्तन गरेकी हुन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद राजीव खत्रीले महानिर्देशक ढकालमाथि चलखेल गरी औषधिको मूल्य वृद्धि गराएको आरोप लगाएका थिए। उक्त आरोपपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बिहान ढकालसँग स्पष्टीकरण मागेको थियो।
यसैबीच, दिउँसो औषधि व्यवस्था विभागले औषधिको मूल्य सम्बन्धमा विज्ञप्ति जारी गर्दै आफ्ना तर्फबाट स्पष्टीकरण दिने प्रयास गरेको थियो। तर त्यसअघि नै मन्त्री मेहताले ढकाललाई मन्त्रालयमा तान्ने निर्णय गरिसकेकी थिइन्।


