

कैलाली- बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्यचौकीका इन्चार्ज सुमन लुहारविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्टमाथि कुटपिट गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
लुहारले आइतबार धनगढी–१ अदालत रोड क्षेत्रमा भट्टमाथि आक्रमण गरेका थिए। कुटपिटबाट भट्टको टाउको र हातमा चोट लागेको छ। पीडित भट्टका अनुसार लुहारले इट्टाले प्रहार गर्दै आफूलाई गम्भीर रूपमा कुटपिट गरेका थिए।
घटनालगत्तै पक्राउ परेका लुहार हाल कैलाली प्रहरीको हिरासतमा रहेका छन्। पीडित भट्टको जाहेरीका आधारमा लुहारविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। “अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ,” उनले भने।
पीडितका अनुसार एउटै स्वास्थ्यचौकीमा कार्यरत सहकर्मीसँग फोनमा कुराकानी गरेको विषयलाई लिएर लुहारले विवाद सुरु गरेका थिए। धनगढी बोलाएर उनले फोनको कल डिटेल हेर्ने भन्दै नागरिकता मागेका थिए। नागरिकता दिन अस्वीकार गरेपछि आफूलाई इट्टाले प्रहार गर्दै कुटपिट गरिएको भट्टले बताएकी छन्।


