

कैलाली- बैतडीका एक स्वास्थ्य चौकी इन्चार्जले आफ्नै महिला सहकर्मीमाथि धनगढीमै कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्य चौकीका इन्चार्ज सुमन लोहारले अनमी माया भट्टमाथि इट्टा प्रहार गरी गम्भीर घाइते बनाएको आरोप छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ अदालत रोड क्षेत्रमा भएको उक्त घटनामा भट्टको टाउको र हातमा चोट लागेको छ ।
घटनास्थलमै उपस्थित स्थानीयले कुटपिट भइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पुगेको प्रहरी टोलीले लोहारलाई तत्काल नियन्त्रणमा लिएको छ । कैलाली प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पीडित पक्षको निवेदनका आधारमा लोहारलाई हिरासतमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ । हालसम्म किटानी जाहेरी भने दर्ता भएको छैन ।
घाइते माया भट्टको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे पीडित भट्टले दिएको विवरण अझै चकित पार्ने खालको छ । उनका अनुसार उनी शनिबार मात्रै धनगढी आएकी थिइन् । कोटिलाबाट डडेल्धुरासम्म उनी र लोहार सँगै आएका थिए भने त्यसपछि छुट्टाछुट्टै धनगढी पुगेका थिए ।
तर धनगढी पुगेपछि एउटा फोन कलहले विवाद चर्कियो । भट्टका अनुसार सहकर्मी लोगबहादुर महरासँग फोनमा कुरा गरेको विषयलाई लिएर लोहार आक्रोशित बनेका थिए । “म पोखरा परीक्षा दिन जाने भन्दै धनगढी आएकी हुँ । चौराहा नजिक दाँत बनाउने कामका लागि गएकी थिएँ,” भट्टले भनिन्, “सुमनले लोगबहादुरसँग किन बोलेको भन्दै झगडा सुरु गर्यो, त्यसपछि टेलिकम जाने भनेर दबाब दियो, नमानेपछि इट्टाले टाउकामा प्रहार गर्यो ।”
भट्टले शंका मात्रका आधारमा आफूमाथि आक्रमण गरिएको दाबी गरेकी छन् । उनले लोगबहादुरसँग पाँच वर्षदेखि कुनै सम्पर्क नभएको समेत स्पष्ट पारेकी छन् ।
घटनाले अर्को पाटो पनि उजागर गरेको छ, दुवैबीच आर्थिक लेनदेनको विवाद । भट्टका अनुसार लोहारले आफूलाई करिब १५–१६ लाख रुपैयाँ दिन बाँकी रहेको छ, जुन रकम उनले व्याजमा लगानी गरेको बताएकी छन् ।
पीडितका श्रीमान् वीरेन्द्र ऐर भने वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेको जनाइएको छ ।
प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ ।


