

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यसहित ‘यौनजन्य दुर्व्यवहार निवारण आचारसंहिता, २०८२’ जारी गरेको छ। मन्त्रालयले मातहतका सबै निकायमा शून्य सहनशीलता नीतिसहित आचारसंहिता लागू गरिएको जनाएको छ।
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन, २०७१ को दफा २१ अनुसार जारी गरिएको उक्त आचारसंहिताले कार्यस्थलमा हुने दुर्व्यवहारका विभिन्न रूपहरू स्पष्ट रूपमा परिभाषित गरेको छ। आचारसंहिताअनुसार इच्छा विपरीत शरीर छोइनु, अंगालो हाल्ने प्रयास, अश्लील शब्द प्रयोग, जिस्क्याउने, यौनसम्बन्धी व्यक्तिगत प्रश्न सोध्ने, अश्लील इशारा गर्ने तथा यौनजन्य सामग्री देखाउने वा पठाउनेजस्ता क्रियाकलापलाई दुर्व्यवहार मानिनेछ।
मन्त्रालयले लिंग, उमेर, जात वा धर्मका आधारमा कुनै पनि प्रकारको विभेद नगरी सबैप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने व्यवस्था गरेको छ। साथै, पीडित तथा अनुसन्धान प्रक्रियाको गोपनीयता पूर्ण रूपमा कायम गरिने पनि उल्लेख गरिएको छ।
उजुरी परेपछि सात दिनभित्र छानबिन गरी निष्कर्षमा पुग्नुपर्ने व्यवस्था गरिएको छ। दोषी ठहरिएमा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ भने उजुरीकर्तामाथि कुनै प्रकारको प्रतिशोध लिन नपाइने सुनिश्चितता गरिएको छ।
कार्यालय प्रमुखलाई आचारसंहिता कार्यान्वयनको नेतृत्वदायी जिम्मेवारी दिइएको छ। कार्यस्थलमा सीसीटिभी जडान, सचेतनामूलक सूचना राख्ने र कर्मचारीबाट आचारसंहिता पालना गर्ने प्रतिबद्धता फाराम भराउने व्यवस्था गरिएको छ।
मन्त्रालयले सेवाग्राही र सेवाप्रदायक दुवैले एक–अर्काप्रति मर्यादित व्यवहार गर्नुपर्नेमा जोड दिएको छ।


