

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले सेवा प्रवाहलाई थप व्यवस्थित, छरितो र सेवाग्राहीमैत्री बनाउन कर्मचारीहरूलाई कडा निर्देशन जारी गरेको छ। अस्पताल प्रशासन प्रमुख भोजराज भट्टले सूचना जारी गर्दै सबै विभाग, शाखा, वार्ड, ओपिडी तथा युनिटका प्रमुख र इन्चार्जलाई सेवाग्राहीले सहज र छिटो सेवा पाउने वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन्।
जारी सूचनामा कर्मचारीहरूले कार्यसमयमा पूर्ण अनुशासनका साथ काम गर्नुपर्ने उल्लेख गरिएको छ। कामको सिलसिलामा कार्यालय बाहिर जानुपरेमा अनिवार्य रूपमा सम्बन्धित विभाग वा शाखा प्रमुखलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, सेवा प्रवाहमा अवरोध नआउने गरी खाना तथा खाजाका लागि तोकिएको समयमै क्यान्टिन प्रयोग गर्न निर्देशन दिइएको छ। अस्पताल प्रशासनका अनुसार प्रत्येक विभागले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा नगरेसम्म सेवाग्राहीलाई प्रभावकारी सेवा दिन सम्भव नहुने उल्लेख गरिएको छ।
सूचनामा कार्य अनुशासन उल्लंघन गर्ने कर्मचारी स्वयं जिम्मेवार हुने स्पष्ट पारिएको छ। सेवा प्रवाहलाई अझ प्रभावकारी, जिम्मेवार र व्यवस्थित बनाउने उद्देश्यले यस्तो निर्देशन जारी गरिएको प्रशासन प्रमुख भट्टले बताएका छन्।


