

काठमाडौं- आज विश्वभर ‘विश्व अटिजम सचेतना दिवस’ मनाइँदैछ। मस्तिष्क विकाससँग सम्बन्धित अटिजमलाई विशेषज्ञहरूले यस्तो अवस्था मान्छन्, जसमा व्यक्तिको व्यवहार, सोच्ने तरिका र बोल्ने शैली सामान्यभन्दा फरक हुन्छ।
अटिजम भएका व्यक्तिहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो। यस दिवसले अटिजमप्रति समाजमा बुझाइ बढाउने र विभेद अन्त्य गर्ने सन्देश प्रवाह गर्दै आएको छ।
यस वर्ष पनि राष्ट्रसङ्घले अटिजम भएका व्यक्तिहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सदस्य राष्ट्रहरूलाई विशेष पहल गर्न आह्वान गरेको छ। अटिजम भएका व्यक्तिहरूलाई समाजको मूलधारमा समेट्ने र उनीहरूको क्षमता उजागर गर्न अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।
यसै सन्दर्भमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सन्देश जारी गर्दै अटिजम भएका व्यक्तिहरूका मानवअधिकार र मौलिक स्वतन्त्रताको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताएका छन्। उनले उनीहरूको समान सहभागिता सुनिश्चित गर्न विश्व समुदायले थप जिम्मेवार बन्नुपर्ने उल्लेख गरेका छन्।


