

कास्की – पोखरा महानगरपालिकाले अति तथा मध्यम गरिब परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसका लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड, गण्डकी प्रदेशबीच सम्झौता भइसकेको छ।
महानगरपालिकाले ‘विपन्न नागरिक स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि, २०८२’ तथा स्वास्थ्य बिमा ऐन र नियमावलीअनुसार कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त गरिब घरधुरीको विवरणका आधारमा २०८३ जेठ मसान्तसम्म लक्षित वर्गको स्वास्थ्य बिमा गर्ने योजना रहेको छ।
स्वास्थ्य बिमा नियमावली, २०७५ अनुसार पाँच जनासम्म सदस्य भएको परिवारका लागि ३ हजार ५ सय रुपैयाँ र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्य ७ सय रुपैयाँका दरले बिमा शुल्क महानगरपालिकाले स्वास्थ्य बिमा बोर्डलाई उपलब्ध गराउनेछ।
निःशुल्क बिमा कार्यक्रममा सहभागी हुन वा नवीकरण गर्न सम्बन्धित वडा कार्यालयबाट अति तथा मध्यम गरिब परिवारको सिफारिससहित दर्ता सहयोगीमार्फत फाराम भरेर महानगरपालिकाको स्वास्थ्य महाशाखामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। आवश्यक प्रक्रिया पूरा भएपछि विवरण स्वास्थ्य बिमा बोर्डमा पठाइने र स्वास्थ्य बिमा सूचना प्रणालीमा प्रविष्ट गरिनेछ।
नगर प्रमुख धनराज आचार्यका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण आधारभूत स्वास्थ्य सेवामा पहुँच नपुगेका नागरिकलाई यस कार्यक्रमले ठूलो राहत दिनेछ। महानगरपालिका नागरिकको स्वास्थ्य सुरक्षा र प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको उनले बताए।
स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलका अनुसार दर्ता सहयोगीहरूलाई आवश्यक अभिमुखीकरण गरिनेछ। साथै लक्षित वर्गलाई कार्यक्रमको अधिकतम लाभ लिन महानगरपालिकाले अनुरोध गरेको छ।


