

काठमाडौँ- वीर अस्पताल मा रहेको अत्याधुनिक टोमोथेरापी मेसिन मर्मतपछि पुनः सञ्चालनमा आएको छ। नेपालमै एक मात्र रहेको यो प्रविधि बिग्रिएपछि विशेषगरी गरिब तथा न्यून आय भएका क्यान्सर बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका थिए।
अस्पताल प्रशासनका अनुसार करिब दुई साताअघि नै मर्मत कार्य सम्पन्न भई सेवा पुनः सुरु गरिएको हो। डा. भुपेन्द्र बस्नेतका अनुसार प्राविधिक समस्या समाधान भएसँगै टोमोथेरापी सेवा अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ।
यसपटक मेसिनको एलाइन्मेन्ट (पोजिसन मिलाउने) प्रणालीमा समस्या देखिएको थियो। आवश्यक पार्ट्स अमेरिकाबाट मगाउनुपरेको र प्राविधिक इन्जिनियर भारतको मुम्बईबाट बोलाउनुपरेकाले मर्मत कार्यमा केही ढिलाइ भएको बस्नेतले बताए।
हाल टोमोथेरापीबाट दैनिक १० देखि १५ जना बिरामीले सेवा लिइरहेका छन् भने पूर्ण क्षमतामा सञ्चालन गर्दा दैनिक १५ देखि २० जनासम्म बिरामीलाई उपचार दिन सकिने अस्पतालले जनाएको छ।
चिकित्सकहरूका अनुसार टोमोथेरापी क्यान्सर उपचारको अत्याधुनिक रेडिएसन प्रविधि हो, जसले शरीरका क्यान्सर कोषलाई लक्षित गरी नष्ट गर्छ। यस प्रविधिबाट क्यान्सर भएको भागमा मात्र विकिरण दिइने भएकाले वरिपरिका स्वस्थ कोषहरूमा न्यून प्रभाव पर्छ। साना–साना हजारौँ विकिरण प्रयोग गरेर आवश्यक मात्रामा र विभिन्न कोणबाट उपचार गर्न सकिने यसको विशेषता हो।
डा. विवेक आचार्यका अनुसार क्यान्सर कोष तीव्र गतिमा फैलिने भएकाले त्यसलाई नियन्त्रण गर्न रेडिएसन थेरापी अत्यावश्यक हुन्छ। यसले क्यान्सर कोष नष्ट गर्नुका साथै अन्य अंगमा फैलिनबाट रोक्ने काम गर्छ। प्रारम्भिकदेखि गम्भीर अवस्थासम्मका बिरामीका लागि पनि यो उपचार विधि महत्वपूर्ण मानिन्छ।
सरकारी तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष करिब ३० हजार नयाँ क्यान्सर बिरामी थपिने गरेका छन्। टोमोथेरापी प्रविधि मस्तिष्क ट्युमर, टाउको–घाँटी, स्तन, फोक्सो, छाला, प्रोस्टेट, पाचन प्रणाली तथा महिला प्रजनन अंगसम्बन्धी विभिन्न क्यान्सर उपचारमा प्रयोग गर्न सकिन्छ।
वीर अस्पतालमा टोमोथेरापी उपचारको पूरा कोर्स करिब डेढ लाख रुपैयाँमा सम्पन्न हुन्छ। यही उपचार भारतमा गर्दा ५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने र निजी अस्पतालमा समेत कम्तीमा ३ लाख रुपैयाँ लाग्ने भएकाले सरकारी स्तरमा उपलब्ध यो सेवा बिरामीका लागि अत्यन्तै सुलभ मानिएको छ।


