

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ। काउन्सिलका रजिष्ट्रार डा. सन्तोष कुमार देव द्वारा जारी सूचनाअनुसार विभिन्न विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरूले सञ्चालन गर्ने फेलोसिप कार्यक्रममा संलग्न चिकित्सकहरूको मनोबल उच्च राख्न र उनीहरूको सेवाको उचित मूल्याङ्कन सुनिश्चित गर्न न्यूनतम नवौँ तह सरहको पारिश्रमिक उपलब्ध गराउनुपर्ने निर्णय गरिएको हो।
काउन्सिलको पूर्ण बैठकबाट गरिएको निर्णय नेपाल सरकारको विद्यमान चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सम्बन्धी नीतिअनुसार कार्यान्वयन गर्न सम्बन्धित सबै संस्थालाई निर्देशन दिइएको छ।
सूचनामा फेलोसिप कार्यक्रममा सहभागी चिकित्सकहरू पूर्णकालीन रूपमा कार्यरत रहने भएकाले उनीहरूको सेवा–सुविधा सुनिश्चित गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ। काउन्सिलले निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित शैक्षिक संस्था र अस्पतालहरूलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ।




